वागमतीको मुख्यमन्त्रीमा तीन दलको दाबी


रोशन पराजुली, हेटौंडा ।

नेकपा एमाले विभाजनको स्पष्ट असर देखिएको वागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । खनालले मन्त्रीको शपथ खाएको १५ दिनमा बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसमक्ष राजीनामा दिनुभएको हो ।

शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बन्नुभएका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी) रोज्दै सनाखत गर्नुभएका उहाँले माधव नेपालनिकट भनिए पनि नयाँ दलमा हालसम्म सनाखत गर्नुनभएकी शाक्यको नेतृत्वमा रहेको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको बताउनुभयो ।

‘म अर्कै दलमा रहेकाले शाक्यलाई काम गर्न सजिलो होस् भनेर मन्त्रीबाट राजीनामा गरेको हुँ’ –उहाँले भन्नुभयो । नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेसँगै बर्खास्तगीको तयारी भइरहेका बेलामा खनालले पदबाट राजीनामा दिनुभएको हो ।

नेकपा एमालेको निर्देशनअनुसार मुख्यमन्त्री शाक्यले खनाललाई पदबाट हटाउने तयारी थाल्नुभएको थियो । खनाल, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । खनालले राजीनामा दिएसँगै प्रदेश सरकारमा मुख्यमन्त्री शाक्य र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ ।

खनालसँगै मंगलबार नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गरेका थिए । सनाखत गर्न भदौ २२ सम्मको समय छ । उनीहरुले प्रदेश निर्वाचन कार्यालय हेटौंडामा सनाखत गरेका हुन् ।

नेकपा विभाजनसँगै अल्पमतमा परेको वागमती प्रदेश सरकारलाई हटाएर विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् । वागमती प्रदेश सरकारको नेतृत्वमा मुख्यरूपमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेका छन् ।

वागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले दाबी गर्नुभएको छ । ‘मुख्यमन्त्रीको उम्मेदवार को’ भन्ने प्रश्नमा पाण्डेले भन्नुभयो– ‘पार्टीले मलाई अगाडि सारेको छ । सत्तारूढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’ सांसद पाण्डेले भदौ २३ गते निर्वाचन आयोगले दलका सांसद संख्या दिएलगत्तै दलका तर्फबाट प्रदेशसभामा पेस गर्ने र त्यही दिन सरकार अल्पमतमा पर्ने बताउनुभयो ।

प्रदेशमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले पनि सरकारको नेतृत्वका लागि दाबी गर्नुभएको छ । जम्कट्टेलले नेतृत्वको लागि माओवादी केन्द्र पनि दाबेदार रहेको तर सरकारको नेतृत्व नपाए सरकारमा सहभागी हुने बताउनुभयो ।

प्रदेश सरकारको नेतृत्वको विषयमा नेपाली कांग्रेसले स्वभाविकरूपमा दाबी गर्ने कांग्रेसका वागमती प्रदेशसभा प्रवक्ता प्रभात तामाङले बताउनुभयो । ‘मुख्यमन्त्रीमा तीन दलले दाबी गर्नु स्वाभाविक हो । हामी गठबन्धनमा रहेका दलहरूसँग छलफलमा छौं । माओवादी केन्द्रले हामीलाई साथ दिनेछ’ –उहाँले भन्नुभयो । उहाँले वागमती प्रदेशका मुख्यमन्त्री वागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता बानियाँ हुने दाबी गर्नुभएको छ ।

प्रदेशमा हाल कायम १ सय ९ सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि ११ सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरिसकेका छन् । अब एमालेमा ४४ सांसदमात्र छन् । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेमकिपाका २÷२ र एक स्वतन्त्र सांसद छन् ।

प्रदेश सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री शाक्यले बहुमत जुटाउन हालसम्म थप ११ सांसदको समर्थन खोज्नुपर्ने हुन्छ । गठबन्धनका तर्फबाट माओवादी, कांग्रेस र एकीकृत समाजवादी मिल्दा बहुमत पुग्छ । एकीकृत समाजवादीका हालसम्म ११, माओवादीका २३ र कांग्रेसका २२ गरी ५६ सांसदका साथमा गठबन्धनले प्रदेश सरकार गठन गर्नसक्ने अवस्था छ । प्रदेश सरकारको नेतृत्वबारे गठबन्धनबीच सहमति हुन भने बा“की छ । यसका लागि केन्द्रमा छलफल हुने र दलहरूबीच समझदारी बन्ने नेताहरू बताउँछन् ।