जैविक विविधताको संरक्षण हामी आफैंले गर्नुपर्छ



२०७५ सालदेखि लामटाङ राष्ट्रिय निकुञ्जको इतिहासमा पहिलोपटक महिला प्रमुख संरक्षण अधिकृतका रूपमा कार्यालयमा सुस्मा राना आउनुभएकको थियो । कोशी अञ्चलको धनकुटा जिल्लामा जन्मनुभएकी उहाँले त्यहाँको सरकारी विद्यालयबाट माध्यमिक शिक्षा पास गरेर वन विज्ञान अध्यायन संस्थान हेटौंडा र पोखराबाट वन विज्ञानमा स्नातकोत्तर गर्नुभएको थियो । रानाले वन मन्त्रालय तथा कानुन मन्त्रालयबाट विभिन्न तालिम लिई वन्यजन्तुको चोरी शिकारी अवैध व्यापार नियन्त्रण तथा वन्यजन्तु अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा तालिम लिई विभिन्न गोष्ठीमा भाग लिइसक्नुभएको छ ।

उहाँ जागिरकै दौरानमा अमेरिका, भारतलगायत नेपालको थुप्रै ठाउँ पुगिसक्नुभएकी रानासँग समसामयिक विषयमा रहेर रसुवा जिल्ला संवाददाता सरस्वती न्यौपानेले गरेको कुराकानी :

सरकारी सेवामा कहिले प्रवेश गर्नुभयो र अहिलेसम्म कहाँ–कहाँ सेवा दिनुभयो ?

सरकारी सेवामा २०५५ साल फागुन १२ गते प्रवेश गरेको हुँ । मैले सरकारी सेवामा रहँदा ताप्लेजुङ, तेह्रथुम, मोरङ, झापा, धनकुटा, कास्की, दोलखा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागमा काम गरिसकें । अहिले लामटाङ राष्ट्रिय निकुञ्ज रसुवामा कार्यरत छु ।

शुरूबाटै निकुञ्ज क्षेत्रमा कार्य गर्नुभएको हो कि अरू सरकारी निकायबाट आउनुभएको हो ?

सरकारी सेवामा नेपाल वन सेवाको जनरल फरेस्ट्री समूहको रेन्जर पदबाट सेवा प्रवेश गरेको हुँ । विस २०७३ साल जेठ २६ गतेदेखि नेपाल वन सेवा, नेसनल पार्क एन्ड वाइल्ड लाइक समूहमा कार्य गर्दै आएको छु ।

लामटाङ राष्ट्रिय निकुञ्जको इतिहासमा नै पहिलोपटक तपाईं महिला वाडेन हुनुहुन्छ । काम कस्तो भइरहेको छ ?

राष्ट्रिय निकुञ्जमा काम गर्ने इच्छा पहिलेदेखि नै थियो । मेरो सेवा प्रवेश जनरल फरेस्ट्रीमा भए पनि २०७३ सालदेखि राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु विभागमा रहि कार्य गर्दै आइरहेको थिएँ । २०७५ सालदेखि लामटाङ राष्ट्रिय निकुञ्जमा वाडेनका रूपमा कार्यरत छु । पक्कै पनि वन, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा समर्पित हुन चुनौतीपूर्ण छ । त्यसमा पनि हाम्रो जस्तो विकासशील देशमा वन, वन्यजन्तुको संरक्षण गर्ने कार्य कम चुनौतीपूर्ण छैन ।

काम गर्दै जाँदा तपाईंको कार्यकालमा चुनौतीहरू आइपरेको छ कि छैन ?

काम गर्दै जाँदा धेरै चुनौतीहरू आए तर सम्पूर्ण सरोकारवालाको साथ र सहयोगबाट आइपरेका चुनौतीहरू पाखा लगाउँदै समाधान गर्दै आइरहेको छु ।

तपाईं तीन जिल्लाको वाडेन हुनुहुन्छ । तपाईंको कार्यकालमा वन, वन्यजन्तुलगायत जैविक विविधताको संरक्षण भएका छ त ?

विशेष गरी वन्यजन्तुको चोरी शिकार वन पैदावर र जडीबुटीको चोरी, गैरकानुनी किसिमले निकुञ्जभित्र भौतिक संरचनाहरू बनाउने, सुख्खा मौसममा हुने वन डढेलो र पछिल्लो वर्षमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व हाल यस क्षेत्रमा देखिएका मुख्य समस्या हुन् । यसको समाधान गर्दै आइरहेका छौं ।

निकुञ्ज क्षेत्रमा कोभिडले कत्तिको असर पारेको छ ?

कोभिड–१९ ले यस निकुञ्जमा धेरै असर पारेको छ । वर्षेनी करिब २० हजार पर्यटकले निकुञ्जको भ्रमण गर्ने गरेका थिए । यस क्षेत्रको अहिलेको प्रमुख समस्या नै कोभिड भएको छ । यसको प्रत्यक्ष असर निकुञ्ज प्रवेश शुल्क घट्नु, स्थानीय होटल व्यवसायीको आय घट्नु लगायत राष्ट्रिय कामकाज र अर्थतन्त्रमा ठूलै असर पारेको छ ।

आम मानिसले लाङटाङ राष्ट्रिय निकुञ्ज भन्छन्, लामटाङ होइन भन्ने गर्छन् । यस विषयमा पनि अलि प्रस्ट पारिदिनु न ।

वास्तवमा यस निकुञ्जको नामकरण नै रसुवा जिल्लामा पर्ने लाङटाङ हिमालको नामबाट राखिएको छ । २०३२ साल चैत ९ गते तत्कालीन श्री ५ को सरकारद्वारा प्रकाशित राजपत्रअनुसार ‘लामटाङ राष्ट्रिय निकुञ्ज’ भनी प्रकाशित भएको रहेछ । सोहीअनुसार यस निकुञ्जको नाम लामटाङ राष्ट्रिय निकुञ्ज रहेको हो । राजपत्र संशोधनका लागि सम्बन्धित निकायमा लेखी पठाइसकिएको छ ।

तपाईंको कार्यकालमा संरक्षणको पाटोमा के–कस्ता सुधारका काम भएका छन् ?

विशेष गरी २०७२ को भूकम्पले खुम्चिएको निकुञ्ज प्रशासन र नेपाली सेनाको सुरक्षा पोस्टलाई विस्तार गर्ने कार्य भयो । रसुवा र नुवाकोट जिल्लामा रहेको सुरक्षा पोस्टलाई विस्तार गरी सिन्धुपाल्चोक जिल्लाको संवेदनशील क्षेत्रसम्म विस्तार गरिएको छ । सरोकारवाला निकायहरूसँगको समन्वय विस्तार भएको छ । वन्यजन्तुको आखेटोपहारको गैरकानुनीरूपमा हुने अ‍ोसारपसारमा कमी आएको छ । स्थानीयस्तरमा संरक्षणप्रतिको संचेतनामा वृद्वि भएको छ ।

संरक्षणको पाटोमा रहेर यस निकुञ्जसँग सम्बन्धित संघ–संस्थासँग तपाईंले कसरी सहकार्य गरिरहनुभउको छ ?

संरक्षण वास्तवमा निकुञ्ज एक्लैले गर्न सक्दैन र सम्भावना हुँदैन पनि । निकुञ्जको संरक्षणमा स्थानीयको सहभागिता र सहकार्य आवश्यकता पर्दछ । वन, वन्यजन्तुको संरक्षण कार्य स्थानीय समूह, नेपाली सेना र निकुञ्ज प्रशासनको त्रिकोणात्मक सम्बन्धबाट मात्रै सम्भव छ । र, त्यसैअनुसार हाम्रो कार्यक्रम सञ्चालित छन् ।

अन्तमा, तपाईंलाई केही भन्नु छ ?

जैविक विविधताको संरक्षण गर्ने भन्ने विषय आफैं भित्रबाट आउनुपर्छ कसैले लादेर, अरूको करले गर्ने संरक्षण दिगो हुँदैन, हामी पनि यही जैविक विविधताको एउटा अंश हौं । संरक्षण गर्नु भनेको हामीले आफ्नो पनि संरक्षण हुनु हो भन्ने कुरा बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्