मध्यपहाडी लोकमार्गको अवरुद्ध पर्वत खण्डमा सवारी सुचारु

5.64k
Shares

न्युज अफ नेपाल, पर्वत ।

पहिरोले रोकिएको पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा सवारी सुचारु भएको छ । निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज विहानैदेखि रोकिएको सडक केहीबेर अघिदेखि सुचारु भएको हो ।

पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै रहेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।

यसैबीच निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो ।

यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुङ्गा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ ।

शनिबार दिनभरजसो ठूलाठूला ढुङ्गा खसेपछि सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएको थियो । वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अहिले पनि उक्त खण्ड अवरुद्ध जस्तै बनेको छ ।

साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक जस्ता सवारी साधन भने ठप्प छन । वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भइरहेको छ । ‘स्काभेटर लगाएर पन्छाउने वित्तिकै फेरि माथिबाट खसिहाल्छ, झनै जोखिम निम्तिने खतरा बढेको छ’, उहाँले भन्नुभयो ‘यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको छ।’

निर्माणाधीन यो सडकमा गत वर्ष ठूला पहिरा गएका थिए । अहिले पनि तीनै ठाउँबाट पहिरा निरन्तर खस्ने क्रम रोकिएको छैन् । यो सडककोस्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले भने १ देखि डेढघण्टासम्म लाग्ने गरेको सवारीचालकको गुनासो छ ।
समाप्त भदौ १३