पासाङल्हामु राजमार्ग अवरुद्ध


सरस्वती न्यौपाने, रसुवा ।

अत्यधिक वर्षाका कारण आएको पहिरोका कारण धुन्चे–ठूलोभार्खु बीचको पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध हुँदा सयौं साना–ठूलो गाडी तथा पैदल यात्रुसमेत आवत–जावत गर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने खोपाङमा सोमबार करिब १२ः३५ बजे पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन बीचबाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुन्चे ल्याउन समस्या उत्पन्न भएको छ ।

आकस्मिकरूपमा पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ । धुन्चेमा उपकरण भएको र चालक भने काठमाडौँतर्फ गएको प्रहरीको भनाइ छ ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेंसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मंगलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।