उत्पादनमुखी उद्योगलाई नीतिगत सुधार हुने

112
Shares

काठमाडौं, (नेस) ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई उत्पादनमूलक अर्थतन्त्रको रूपमा विकास गर्न नीतिगत र प्रक्रियागत सरलीकरणका लागि सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माणको एजेन्डालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न सहजीकरण गर्ने बताउनु भएको हो ।

‘मेक इन नेपालको नारा गहन र महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो–‘अब तपाईंहरूले पनि उद्योगमा लगानी वृद्धि गर्नुस् । यो नारालाई वास्तविकतामा परिणत गर्न तपाईंहरूलाई आवश्यक सहजीकरणका लागि हामी तयार छौं ।’

अर्थमन्त्री शर्माले सार्वजनिक निजी साझेदारीलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने अघि निजी क्षेत्रसँग सहकार्य गरेर आफू अघि बढ्ने पनि बताउनुभयो । उहाँले राजस्वको दिगो आधार तयार गर्न उद्योगको विकास हुनुपर्ने भन्दै उद्योगमा लगानी बढाउनुपर्नेमा पनि जोड दिनुभयो । कमजोर पुँजीगत खर्चले पुँजी निर्माणमा समस्या भएको उल्लेख गर्नु हुँदै मन्त्री शर्माले पुँजीगत खर्चमा वृद्धि र आयोजना कार्यान्वयनको गुणस्तरमा सुधार गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले सरकार, निजी क्षेत्र, सहकारी र आम जनता एकै ठाउँमा उभिएर अर्थतन्त्रको जग बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

परिसंघका अध्यक्ष अग्रवालले नेपाललाई उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्ने घोषणा वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपत्रमा समेत उल्लेख भएको छ भन्दै त्यसलाई कार्यान्वयन गर्न परिसंघले मेक इन नेपाल स्वदेशी–अभियानलाई अघि बढाएको बताउनुभयो । यस अभियान कार्यान्वयनका लागि ३४ वटा क्षेत्रमा नीतिगत सुधार एवं मध्यस्थता आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष अग्रवालले उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको विवादमा अल्झिरहनु परेको भन्दै उक्त समस्या समाधानका लागि अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो । परिसंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग पनि भेटवार्ता गरेको छ । भेटका क्रममा सचिव मरासिनीले आफूले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि विभिन्न कार्य गरेको भन्नुहँुदै परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियान सफल बनाउन पूर्ण सहयोग गर्ने बताउनुभयो ।