मेदभेदेभ र जियोर्जीलाई उपाधि



लन्डन, (एजेन्सी) ।

रसियन विश्व नम्बर दुई डानील मेदभेदेभ र इटालीकी कामिला जियोर्जीले क्यानेडियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
मेदभेदेभले टोरोन्टोमा भएको फाइनल खेलमा अमेरिकाका रीली ओपेल्कालाई ६–४, ६–३ को सीधा सेटमा हराएर उपाधि जितेका हुन् । यूएस ओपन २०१९ का रनरअप मेदभेदेभले ओपेल्कालाई हराउन केवल ८५ मिनेट समय खर्चेका थिए । यो उनको १२ औं एटीपी उपाधिसमेत हो ।

महिला सिंगल्सतर्फ मोन्ट्रियलमा भएको फाइनल खेलमा विश्व नम्बर ७१ मा रहेकी जियोर्जीले स्तब्ध नतिजा निकाल्दै उपाधि हात पारेकी हुन् । उनले चेक रिपब्लिककी चौथो वरीयता प्राप्त केरोलीना पिलिस्कोभालाई ६–३, ७–५ ले हराएकी थिइन् । २९ वर्षीया इटालियनको २०१९ पछि यो पहिलो डब्ल्यूटीए टुर जितसमेत हो ।

प्रतिक्रिया दिनुहोस्