प्रहरीले रक्तदान गरेर जोगाउँछन् गर्भवतीको ज्यान



राम धामी, डडेल्धुरा ।

लामो समय विरामीका कारण शारिरिक अवस्था कमजोर भएर एक्कासी पाँच महिनाको गर्भपतन हुँदा गम्भीर बिरामी भएकी एक विपन्न महिलाको ज्यान जोगाउन प्रहरी जवानले बुधबार रक्तदान गरेका छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बैतडी जिल्लाको विकट क्षेत्र मानिने पुर्चौडी नगरपालिका–३ की २८ बर्षीया जानकी धामीको रगतको अभावमा उपचारमा समस्या आएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा अन्तर्गत अस्थायी प्रहरी बिट बसपार्क डडेल्धुरामा कार्यरत २९ बर्षीय प्रहरी जवान धनबिर शार्कीले रक्तदान गरेका हुन् ।

निरन्तर बिरामीका कारण शारिरिक रुपमा कमजोर भई एकाएक गर्भपतन भएपछि निरन्तर रक्तश्राव हुँदा गम्भीर अवस्थामा पुगेकी धामीलाई नेपाल रेडक्रस सोसाईटी डडेल्धुराद्वारा सञ्चालित ब्लड बैंकबाट मंगलबार राती एक पिन्ट रगत उपलब्ध गराइएको थियो ।

धामी मंगलबार मात्रै डडेल्धुरा अस्पतालमा भर्ना भएकी र उनको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको डडेल्धुरा अस्पतालले जनाएको छ । बुधबार फेरि रगत आवश्यक परेपछि रेडक्रसको ब्लड बैंकमा रगत अभाव हुँदा विरामीका आफन्तहरुले प्रहरीलाई गुहारेका थिए । प्रहरी जवान शार्कीको रगत समुह मिलेपछि गएर रक्तदान गरेको बसपार्क स्थित प्रहरी बिटका इन्चार्ज प्रनानी चन्द्रसिँह धामीले बताउनु भयो ।

कञ्चनपुरको भिमदत्त–१ बाराकुण्डा निवासी जवान शार्कीले बिरामीको ज्यान जोगाउन यसअघि पनि रक्तदान गरेको बताउनु भयो । गम्भीर किसिमका बिरामीहरुका साथै खास गरेर कमजोर अवस्थामा रहेका गर्भवती महिलाहरुको उपचारका लागि प्रहरीले रक्तदान गर्दै आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो । उँहाले प्रहरीले रक्तदान गरेका कारण अकाल मृत्यु हुनबाट थुप्रै गर्भवती महिलाहरु बाच्न सफल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्