मुलुकका लागि युवापङ्क्ति अग्रसर होऔं



दलीय प्रजातान्त्रिक देशमा पदीय आकांक्षा भएका व्यक्ति मात्र भेटिनुमा दोष शीर्षस्थ नेता वा प्रमुख नेतृत्वलाई नै जान्छ । यसमा साँढेले गाई ओगटेझैँ ओगटेर बस्ने प्रमुख नेतृत्व नै बढी जिम्मेवार रहेको छ । यसले देशमा दुःखद परिस्थिति निम्त्याइरहेको छ । अर्कोतर्फ राजनीतिक पार्टीभित्रका युवा नेतृत्व पनि राष्ट्रको भौगोलिक बनावटअनुसार विकास गर्न सकिने भिजन शीर्ष नेतृत्वसमक्ष राख्न सकिरहेका छैनन् । यसमा देशको नीति निर्माण गर्ने थलोमा पुगेको युवा सांसदको कमजोरी पनि देखा परेको छ ।

युवा नेतृत्व कुनै पनि पार्टीको निरङ्कुशताभित्र जकडिएको देख्दा अत्यास नै लाग्छ । उनीहरुमाथि लाग्ने पार्टीको ह्वीप त छँदै छ । तर अचम्मको कुरा, युवा सांसदलाई लाग्ने ह्वीप शीर्षस्थ नेतालाई लागिरहेको हुँदैन । यसले पार्टीमा रहेका युवा कार्यकर्ता तथा युवा सांसदमाथि पार्टीको अनुशासन, विधिविधान लागू हुने तर शीर्षस्थ नेतृत्वले चाहिँ अनुसाशन, विधिविधान मान्नु नपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।हामी जनादेश लिएर आएका हौं भने पनि उही पार्टीमा रहेका शीर्षस्थ नेता र युवा नेतृत्वको बीचमा ठूलो खाडल छ । यही खाडल नपुरिएकाले पनि होला, जुन पार्टीले सरकार बनाए पनि असमयमै गलहत्तिनुपरिरहेको छ । हाल नेपाली काङ्ग्रेसका सभापति तथा प्रम देउवा पनि यसै गरी गलहत्तिनुपर्ने पो हो कि भन्ने आशंका उब्जन थालेको छ ।सहमतिमा मन्त्रिमण्डल विस्तार हुन नसकिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीमा उनी निकट शैक्षिक व्यापारी उमेश श्रेष्ठलाई नियुक्ति दिएपछि प्रम देउवाको उनकै पार्टी नेपाली काङग्रेसभित्र विरोध शुरु भएको छ । आखिर सरकार गठबन्धनको हो । नेकपा एमाले माधव नेपाल पक्षका सांसदलाई पनि भाग लाउनुपर्ला । यसै गरी समाजवादी पार्टी वा दलका सांसदलाई पनि भाग लगाउनुपर्ला । माओवादी नेता प्रचण्डले भनिसकेका छन् कि हाम्रो पार्टीमा जति सांसद छन्, ती सबै मन्त्रीका आकांक्षी छन् । अहिले भागमा परेका ८ जनाले त एकछेउ नै पुग्दैन ।

त्यसैले माओवादी १०, एमाले १०, तराई गठबन्धन १०, कांङग्रेसभित्र १५ नै पुग्लान् भने टाक्रेटुक्रेलाई ५, उपप्रम पनि पाँचै पुग्लान् । सबै जोड्दा ६० जना मन्त्री, ७ प्रदेशका ७ मुख्यमन्त्री गर्दा १५० देखि २०० नै पुग्लान् । राज्यको बजेटले प्रम, उपप्रम र सांसदलाई नै अपुग देखिन्छ । उनीहरुको सुविधाको त केही हिसाब नै छैन ।जनताको चाहनाअनुसारको विकासका लागि उनै जनतालाई ऋणको भार बोकाउँदै दातृ निकायलाई ‘हाम्रो देशमा लगानी गर्न आऊ’ भनेर उल्टै हामी मालामाल बन्दै छौं भनिरहेका छौं । यसैलाई हामी सभ्यता मानिरहेका छौं । विश्वका लगानीकर्ता, विज्ञ तथा वैज्ञानिकलाई कालापत्थरसहितका कुना–कुनामा घुमाइरहेका छौं । युरेनियम डाँडा, वनजङ्गल, जडीबुटी रहेका स्थानको अवलोकन गराइरहेका छौं । खुलेरै कुन–कुन क्षेत्रमा लगानी गर्छौं भनिरहेका छौं । हाम्रा राष्ट्रिय सम्पत्ति आफैंले सदुपयोग नगरी विदेशी लगानीकर्तालाई ‘तिमीहरु मालामाल बन, हामीहरुलाई पनि मालामाल बनाऊ’ भनिरहेका छौं ।देशभित्र भने लाउडा, धमिजा, महाकालीजस्ता सम्झौता गर्दै गैरहेका छौं । बाँसबारी जुत्ता कारखाना, विराटनगर जूट मिल, जनकपुर चुरोट कारखाना लिमिटेड हुँदै अन्तिममा आएर एमसीसीमा पुगी राष्ट्रघात गर्दै छौं ।

सुनिन्छ, माइतीघर मण्डलामा विरोध गर्नेहरु पनि एमसीसी पास गर्न सहयोग पु¥याउन थालिसकेका छन् रे ! भनिन्छ, कोरोना संक्रमण महामारीका नाममा कडा लकडाउन गरेर जनता सडकमा उत्रने वातावरण अन्त्य गरी एमसीसी पास गर्ने प्रयत्न गरिँदै छ ।यस्ता नकारात्मक कार्य रोक्ने भनेको विपक्ष पार्टीले विरोध गरेरै हो । तर विपक्षी पनि त्यो अवस्थामा छैन । सबैलाई मन्त्री पद चाहिएको छ । अब त केवल राप्रपाले पो माइतीघर मण्डलामा एमसीसीको विरोध गरिरहेको छ । यिनीहरु पनि मौका पाए सरकारमा सामेल होलान् । अनि त विरोध गर्ने कोही पनि हुँदैनन् ।हामीले नेपालमा चीन र अमेरिका विरोधी गतिविधि ल्याउने कुरा स्वीकार गर्नै हुँदैन । हामी साधारण जनताले कसैका विरुद्ध केही गरेर गल्ती गरेका छैनौं । राष्ट्रघात पनि हामी जनताले गरेका होइनौं । दलाली र गुलामी पनि हामी जनताले गरेका छैनौं । हाम्रा शासकहरु गतिला भएनन् । अब हामीले उदीयमान युवाहरुलाई अघि आउन आह्वान गर्नुपर्छ । कम्तीमा युवाहरुले देशलाई विदेशीको सिकार बन्नबाट रोक्नुपर्छ । राष्ट्रको अस्तित्व जोगाउनुपर्छ ।
– मीठाराम पौड्याल, जफे–६, दोलखा ।

प्रतिक्रिया दिनुहोस्