न्युज अफ नेपाल, दार्चुला ।
ब्याँस गाउँपालिका–२ मालघाट घट्नाका प्रत्यक्षदर्शीको बयान पछि गृह मन्त्रालयबाट आएको छानबिन टोली भारतपट्टीको घट्ना स्थल अनुगमन गरेको छ । विहीबार विहान भारतको धारचुला हुँदै घटना स्थल गस्कु गएको टोलीले भारत पट्टीको घट्ना स्थल गस्कु अनुगमन गरेको गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जर्नादन गौतमले जानकारी दिनुभयो ।
घट्ना स्थल अनुगमन जानु पुर्व बुधबार मन्त्रालयको टोलीले जिल्ला स्थित राजनितिक दल, ब्याँस गाउँपालिकाका जनप्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारहरु संग घट्नाको विषयमा छलफल गरेको थियो । टोलीले भारत पट्टीको घटना स्थललाई अनुगमन गरी फर्किएको छ । घट्ना स्थल नेपाल तिरको क्षेत्रमा मलघट्टे तथा भारत तिर क्षेत्रमा गस्कु भन्ने ठाउँ पर्दछ ।
टोलीले गस्कु घट्ना स्थलमा तुइन बाधेको टुनीको रुख र नेपाल तर्फको घट्ना स्थललाई अनुगमन गरेको उहाले बताउनुभयो । गस्कु घटनास्थल अनुगमन गरी फर्किएको टोलीले गृह मन्त्रालयलाई हेलिकप्टर उपलब्ध गराउन माग गरेको छ । नेपाल पट्टीको माल घटनास्थल जान नेपालबाट बाटो नभएका कारण हेलिकप्टरको माग गरिएको संयोजक गौतमले बताउनुभयो ।
हेलिकप्टरको व्यवस्था हुने वित्तिकै नेपाल पट्टीको माल घट्ना स्थल अनुगमनका लागी जाने तयारी भइरहेको उहाको भनाई छ ।
छानबिन टोलीले घट्ना हुने वित्तिकै दुम्लिङ बिओपीबाट घटनास्थल खटिएको सशस्त्र प्रहरीको टोलीलाई समेत घट्नाका बारेमा सोधपुछ गर्ने जनाएको छ । घट्ना संग सम्बन्धित सबैलाई सोधपुछ गरेर प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा बुझाउने संयोजक गौतमले जानकारी दिनुभयो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।
साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटीदिदा स्थानिय जय सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जय सिंह धामी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।
ब्याँस–२ का जय सिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनास्थल गस्कु अनुगमन गर्दै छानबिन टोली ।
तस्विर :किरन धामी (नेस)
प्रतिक्रिया