२० दिनमा नौ सय ३० संक्रमित, एउटै व्यक्तिमा तीनपटक संक्रमण

3k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा बुधबार दिउँसो साँझसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या आठ सय ५६ पुगेको छ । बुधबार मात्रै ९१ जना संक्रमित भएका छन् भने दुई जनाको निधन भएको छ । संक्रमण भएर घरमै बसिरहेका बिरामीहरूको पनि निधन हुन थालेका छ । अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

कोरोना संक्रमणको दोश्रो चरण शुरू भएलगत्तै जिल्लामा प्रशासनको निगरानी र नागरिकहरूको सचेतना बढेको थियो । निषेधाज्ञा जारी छ तर नागरिकहरूको हेलचेक्र्याइँ बढिरहेको छ । बढ्दो हेलचेक्र्याइँका कारण संक्रमण बढ्न थालेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनुभयो । बुधबारसम्म दोश्रो चरणको संक्रमणबाट निधन हुनेहरूको संख्या एक सय ३३ पुगेको छ । पहिलो चरणमा ६४ जनाले ज्यान गुमाएका थिए ।

सर्वसाधारणले प्रशासनले निषेधाज्ञा कडाई नगर्ने हो भने संक्रमणबाट ठूलो क्षति हुन सक्ने बताउन थालेका छन् । साउन महिनामा मात्रै संक्रमण हुनेहरूको संख्या ९ सय ३० रहेको छ । साउन महिनामा ७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमण न्युनीकरणका प्रयास सफल हुन सकेका छैनन् । सरकारले विभिन्न देशबाट ल्याएको खोप लगाउने कार्य सुचारू भए पनि नागरिकहरूमा फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । विशेषगरी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरू त्यसको जोखिममा परेका छन् । एउटै व्यक्तिलाई दुईपटक संक्रमण सामान्यजस्तै देखिए पनि तेश्रोपटक संक्रमण देखिन थालेको छ । पटक–पटक एउटै व्यक्तिलाई संक्रमण हुनु गम्भीर भएको चिकित्सकहरूले बताएका छन् । धुलिखेल नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई तीनपटक संक्रमण भएको छ ।

दुईपटक खोप लगाएको अवस्थामा पनि संक्रमण देखिएकाले नागरिकहरू सचेत रहनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । खोपकै कारण उहाँमा देखिएको तेश्रोपटकको संक्रमणले अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् ।

धुलिखेलमा मात्रै तीन जना व्यक्तिमा तेश्रोपटक संक्रमण देखिएको छ । बनेपा र आसपासका क्षेत्रमा केही नागरिकहरूलाई तेश्रोपटक संक्रमण देखिन थालेको छ । बजारमा भएको भिडभाड, नागरिकहरूको हेलचेक्र्याइँ र भाइरसले बदल्दै गएको स्वरूपले संक्रमण फैलँदै जान थालेको हो । जिल्लामा दोश्रो चरणमा साउन ८ गतेसम्म १ सय ३१ जनाले कोभिडकै कारण ज्यान गुमाएका छन् । पहिलो चरणमा ६४ जनाले ज्यान गुमाएका थिए ।