बैंक र पालिकाको चरम लापरबाही, ९ सय २० बालबालिका पोषण भत्ताबाट वञ्चित

938
Shares

वासुदेव शर्मा, जाजरकोट ।

बैंक र नगरपालिकाले समन्वय नगर्दा जाजरकोट भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । बैंक र पालिकाको चरम लापरबाहीले भेरी नगरपालिकाका ९ सय २० बालबालिकाले एक वर्षको पोषण भत्ता नपाउने भएका छन् ।

५ वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन सरकारले दिँदै आएको आर्थिक वर्ष ०७७/७८ को पोषण भत्ता सम्बन्धित निकायको लापरबाहीले भेरीका चारवटा वडाका बालबालिकाले नपाउने भएका हुन् ।

समयमा बैंकमा रकम जम्मा नहुँदा भेरी नगरपालिका ४, ८, ९ र १० का ९ सय २० बालबालिकाको एक वर्षको करिब ४७ लाख रुपियाँ फ्रिज भएको छ । भेरी नगरपालिका–४ का १ सय ३९, वडा नम्बर ८ का २ सय ६३, वडा नम्बर ९ का २ सय १०, वडा नम्बर १० का ३ सय ८ जना बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । उनीहरू मासिक ४ सयका दरले पाउने पोषण भत्ता ४ हजार ८ सय रुपियाँ पाउनबाट वञ्चित भएका छन् ।

विगतका वर्षमा सम्बन्धित वडा पालिकाले बालबालिकाका अभिभावकलाई नगद बुझाउने गरेको थियो । गत आर्थिक वर्षको दोस्रो चौमासिकदेखि नेपाल सरकारले अनिवार्य बैंक खातामा भत्ता जम्मा गर्नुपर्ने राजपत्रमा सूचना जारी निर्देशन गरेको भेरी नगरपालिका सामाजिक सुरक्षा शाखाका केदार कार्कीले बताउनुभयो ।

भेरी नगरपालिकाका १३ वटै वडाले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैँक , एनआईसी एसिया बैंकमा सामाजिक सुरक्षा भत्ता, पोषण भत्ता लिन खाता सञ्चालन गर्ने निर्णय गरेका थिए । एनआईसी एसिया बैंकबाहेक सबै बैंकले खाता खोली रकम निकासा लिएर भुक्तानी दिइरहेका छन् भने एनआईसी एसिया बैंकबाट कारोबार गर्ने ४, ८, ९ र १० को पोषण भत्ताको रकम समयमा जम्मा नहुँदा बालबालिकाले भत्ता नपाउने भएका छन् ।

‘गत असार २९ गते चेक काटेर जम्माका लागि बैंकमा पठाएका थियौं आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिनभित्र साट्नुपर्ने नसाटे स्वतः रद्ध हुने व्यवस्था भएकाले चेक सटाउने अन्तिम म्याद साउन १२ सम्म थियो, अन्तिम समयमा बैंकले चेक नसाट्दा ४७ लाख बजेट फ्रिज भएको छ’ –कार्कीले जानकारी दिनुभयो ।

बैंकको लापरवाहीले बालबालिका भत्ता पाउनबाट वञ्चित भएका हुन् । बैंकले सामाजिक सुरक्षाका चेक साटे पनि पोषण भत्ताको चेक राख्ने कर्मचारीले बेवास्ता गर्दा यस्तो समस्या आएको हो ।

चेक जम्मा गर्ने समयावधि सकिएपछि बैंकका मेनेजर कर्मचारी नगरपालिका र कोष तथा लेखा नियन्त्रक कार्यालयसँग हारगुहार गरे पनि रकम खातामा जम्मा हुन नसकेको स्रोतको दाबी छ ।

एनआईसी एसिया बैंक जाजरकोटका शाखा प्रमुख खगेन्द्र मल्लले बैंक खाता खोल्ने स्वीकृति केन्द्रबाट हुने भएकाले ढिला भएको र सामाजिक सुरक्षा, पोषण भत्ताको काम पहिलोपटक गरेकाले समस्या भएको बताउनुभयो । पोषण भत्ताको चेक साट्न ढिलाइ भए पनि पछि सिस्टमले चेक लिन नमानेपछि के गर्ने भनेर भेरी नगरपालिका कोष तथा लेखा नियन्त्रण कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा परामर्श भइरहेको शाखा प्रमुख मल्लको भनाइ छ ।

‘नगरपालिका र बैंकले समन्वय नगर्दा चेक नसाटिएको खाता खोल्न ढिलाइ भए पनि नगरपालिका मौन बस्नु, बैंकले चेक साटेर पछि खाता खोलिसकेपछि ट्रान्सफर गर्नुपर्ने बालबालिकाले पाउने रकममा दुवै पक्ष संवेदनशील हुनुपथ्र्यो नभएको देखियो अब रकम पाउने सम्भावना छैन रकम जताबाट आयो त्यहीं गयो’ –कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नरेश भट्टले बताउनुभयो ।

बालबालिकालाई भत्ता आउँछ भनेर खानेकुरा किनेर खुवाएको अभिभावकहरू जताबाट आएको हो त्यतै पोषण भत्ता गयो भन्ने सुनेपछि निराश भएका छन् । गाउँबस्तीका बालबालिका अझै भत्ता पाउने आशामा छन् ।