लुम्बिनीमा सत्ता पक्ष र विपक्षी गठबन्धनबीच टकराव, सरकारले मार्ग प्रशस्त नगरेको भन्द चर्को आलोचना

280
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनीमा विगत लामो समयदेखि सत्ता पक्ष र विपक्षी गठबन्धन बीच टकराव हुँदै आएको छ । एक अर्कालाई अवैधानिक भन्दै आरोप/प्रत्यारोप गर्दै आएका सत्ता पक्ष र विपक्षी गठबन्धन बीच वारपारको लागि प्रतिष्पर्धा जारी छ । विपक्षीले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएर पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गर्दै आएका छन् । सत्ता पक्षले भने आफू बहुमतमा नै भएको दाबी गर्दै विपक्षीले अनावश्यक रुपमा आलोचना गरेको बताउँदै आएको छ् ।

बुधवार लुम्बिनी प्रदेशका सत्ता पक्ष र प्रतिपक्ष गठबन्धन एउटै कार्यक्रममा आमने–सामने भएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुसँग स्पष्ट बहुमत भएको बताउनु भएको छ् । उहाँले मंगलबार विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव असंवैधानिक भएको बताउँदै अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताउनु भयो । त्यसका लागि जसपामा देखिएको विवाद समाधान हुनुपर्ने उहाँको माग रहेको छ ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले आफूहरुलाई सत्तामा बसिरहन मन नभएको बताउनु भयो । उहाँले सत्तापक्ष सहमतिमा जान खोजेको बताउँदै प्रदेश सभा भित्र राजनीतिक जटिलताको अन्त्य गरेर विपक्षी गठबन्धनलाई सहमित प्रक्रियामा जान आग्रह गर्नु भयो ।

ढकालले संविधानको धारा १६८(१)बमोजिमको सरकारमाथि अविश्वासको प्रस्ताव पेश गर्न संवैधानिक नभएको बताउनु भयो । उहाँले विपक्षी गठबन्धनले प्रलोभनमा सांसदहरुलाई आफूतिर किनेको आरोप लगाउनु भयो । उहाँले विपक्षी गठबन्धनले नक्कली नाम राखेर ४२ सांसद पुर्याएको आरोप पनि लगाउनु भयो । नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खाँनले वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै अब छिटै छिनो–फानो गर्ने बताउनु भयो । उहाँले कांग्रेसले गोलबद्ध भएर अघि बढ्ने योजना बनाएकोसमेत बताउनु भयो ।

खाँनले प्रदेश सरकार गठन भएको ३ वर्षसम्म आफूहरु चुप भएर बसेको बताउँदै सरकारले असंवैधानिक कार्यहरु गर्न थाले पछि आफूहरु एकजुट भएर अगाडि बढेको बताउनु भयो । अल्पमलमा हुँदा बारम्बार विश्वासको मत लिनुपर्नेमा बारम्बार संसदबाट भागेको आरोप उहाँले लगाउनु भयो । आफूहरुले विश्वासको मत लिन आग्रह गर्दागर्दै पनि सुनूवाई नभएपछि आफूहरुले निकास खोजेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेत तारा जि.सीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेपछि पनि प्रक्रियामा जान नखोजेको आरोप लगाउनु भयो् । उहाँले सत्ता पक्षले बारम्बार लोकतन्त्र माथि हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी संसदीय दलका सचेतक सहसराम यादवले मुख्यमन्त्री पोखरेल बारम्बार विश्वासको मत लिनबाट डराएको बताउनु भयो । सत्तापक्षले बारम्बार जसपा पार्टी माथि हमला गर्न खोजेको आरोप लगाउदै उहाँले जसपाका सांसदहरुलाई प्रभोलनमा देखाएर आफूतिर तानेको आरोप लगाउनु भयो । साक्षात्कार कार्यक्रम रिपोर्टर्स् क्लबल नेपाल, लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।