दार्चुला तुइन प्रकरणमा पारदर्शी छानविन हुन्छ : संयोजक गौतम

392
Shares

न्युज अफ नेपाल, दार्चुला ।

ब्याँस गाउँपालिका–२ मालघाट घट्नाको पारदर्शी रुपले छानविन गरिने गृह मन्त्रालयका सहसचिव एवम् छानविन समितिका संयोजक जर्नादन गौतमले बताउनु भएको छ । घटनाबारे छानविन गर्न काठमाण्डौँबाट मंगलबार साझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरु संग घट्नाको विषयमा छलफल गरेको छ ।

छानविनका लागी आवश्यक सुचना तथा प्रमाण संकलन गर्न घट्ना स्थल जानु पुर्व मन्त्रालयको टोलीले जिल्ला स्थित पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको हो । छलफलका क्रममा समितिका संयोजक गौतमले माल घट्नालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताउनु भएको छ । टोलीले यसअघि बुधबार विहान ब्याँस गाउँपालिका–२ माल घट्नाका तिन जना प्रत्यक्षदर्शीलाई घट्नाका बारेमा गहिरो रुपले सोधपुछ गरेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घट्नाको वास्तविकता बारेमा सोधपुछ गरेको बुझिएको छ । प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घट्ना संग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी घट्नाको सत्यतथ्य बाहिर ल्याउने उहाले बताउनुभयो ।

‘जागिरको उत्तरार्धामा छौ कसैको डरत्रास छैन्, छानविनलाई निकै पारदर्शी र निष्पक्ष बनाउछौ संयोजक गौतमले भन्नुभयो ।’ अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरु छानविन समितिमा रहेको भन्दै उहाले घट्नाको सत्यतथ्य बाहिर आउनेमा विस्वास व्यक्त गर्नुभयो । छलफलका क्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण सिंह धामीले घट्नाको कारण भारतिय सिमा सुरक्षा बल एसएसबी भएको बताउनु भएको छ । प्रत्यक्षदर्शी र स्थानियको भनाईका आधारमा सबै जसो मिडियाहरुमा समाचार सम्प्रेषण भएको पनि उहाले बताउनुभयो ।

पत्रकार तथा मानव अधिकारकर्मी नरेन्द्र सिंह कार्कीले जनताले बोलेका कुरा मिडियामा लेखेको दावी गर्दै प्रशासनले समाचार प्रति निकालेको विज्ञप्तीको कुनै अर्थ नहुने बताउनुभयो । साथै उहाले प्रहरी प्रशासनले प्रत्यक्षदर्शीलाई अपराधी सरह राखेको भन्दै उनिहरुको मानव अधिकार र सुरक्षा प्रतिको जिम्मा सरकारले लिनु पर्ने बताउनुभयो ।

ब्याँस गाउँपालिका–२ का जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा उनि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । साउन १५ गते शुक्रबार विहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेट्टिका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर : किरन धामी/नेपाल समाचार पत्र