‘कांग्रेस महाधिवेशन केही समय सर्छ’

5.1k
Shares

भूपराज बस्याल, काठमाडौँ । 

नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्टीको महाधिवेशन केही समय पर सर्ने बताउनुभएको छ । स्थानीय चुनावभन्दा पहिले र दशैंतिहारको बीचमा महाधिवेशन हुने उहाँको तर्क छ ।

पार्टीले औपचारिक निर्णय नगरे पनि क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीका कारण महाधिवेशनका लागि हाल तोकिएको मिति परिवर्तन हुने उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘महाधिवेशन धेरै पर सार्नुहुँदैन तर सबै जनताले खोप नलगाई गर्न पनि हुँदैन, खोप लगाउँदासम्म क्रियाशील सदस्यताको टुंगो पनि लाग्छ अनि महाधिवेशन हुन्छ ।’ सबै जनतालाई कोरोनाविरुद्धको खोप लगाउँदा र सबै विवाद मिलाउँदा ४÷६ महिना लाग्ने हुँदा महाधिवेशनको मिति सर्ने उहाँको भनाइ थियो ।
उहाँले केन्द्रीय समितिले यही १९ गतेसम्म क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद मिलाउने जानकारी दिनुभयो । क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलेपछि राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय हुने उहाँको भनाइ थियो । कोभिडका कारण विश्वभर यो समयलाई शून्य मानिएको हुँदा यो कोभिडको समयलाई शून्य मानेर महाधिवेशन सार्न सकिने उहाँको तर्क थियो ।

पार्टीको आजको आवश्यकता ‘एक व्यक्ति एक पद’ कार्यान्वयन गर्न आफ्नो सभापतिमा उम्मेदवारी रहेको उहाँको भनाइ थियो । एउटै व्यक्तिले धेरै पद लियो भने सफल नहुने भन्दै उहाँले एक व्यक्ति एक पद भए पार्टी र व्यक्ति दुवै सफल हुने उहाँको तर्क थियो । आफू पार्टी सभापति भएपछि प्रधानमन्त्रीको लोभ नगर्ने भन्दै उहाँले पार्टीमा सबैलाई काम गर्ने ठाउँ दिनुपर्ने बताउनुभयो । अहिलेको पार्टी सभापति सर्वसम्मत बनाउने प्रयोग भइरहेको जानकारी दिँदै उहाँले सकेसम्म निर्विरोध सभापति चयनको प्रक्रियामा लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यो सर्वसम्मति गोपालमान श्रेष्ठको नाममा हुन पनि सक्छ अरू कसैको नाममा भए पनि म बाधक बन्दिनँ तर चुनाव हुने भयो मेरो उम्मेदवारी पक्का पर्छ ।’

‘शेरबहादुरजीलाई हरेक दुःखमा सहयोग गरेको हो, त्यसैले उहाँले अहिले मलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो तर्क हो’, –उहाँले भन्नुभयो । पार्टीले सकेसम्म सबैको क्षमतालाई प्रयोग गर्नुपर्ने भन्दै पार्टी सभापतिमा आफू एक कार्यकाल भन्दा नबस्ने उहाँको भनाइ थियो ।