परिषद् गर्न हेलिकोप्टरको सयर

434
Shares

धादिङ, (नेस) ।

आन्तरिक विवादका कारण हुन नसकेको रुबीभ्याली गाउँपालिकाको गाउँपरिषद् साउन २० गते हुने भएको छ । गाउँपरिषद् गर्नका लागि पालिकाको खर्चमा जनप्रतिनिधि, कर्मचारी र दलका नेताहरूलाई हेलिकोप्टरमा ओसार्न थालिएको छ ।

संविधानअनुसार असार १० गतेभित्र गाउँपरिषद गर्नुपर्नेमा नगरेपछि साउन २० गते गर्न लागिएको हो । आन्तरिक आय न्यून भएको रुबीभ्याली गाउँपालिकाले गाउँपरिषद् गर्नका लागि जनप्रतिनिधि र कर्मचारीलाई आन्तरिक खर्चमा हेलिकोप्टरबाट गाउँ पुर्‍याएको छ । प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरू परिषद् गर्न गाउँ पुगिससकेका छन् भने भिन्न दलका प्रतिनिधिलाई समेत गाउँ लान लागिएको छ ।

जिल्लाको विकटमा रहेको गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नभएको र जनप्रतिनिधिहरू गाउँमा नबस्ने भएपछि काठमाडौंबाट हेलिकोप्टरमा उनीहरूलाई गाउँ लान लागिएको हो ।