एमालेद्वारा नौ विभाग गठन



काठमाडौं, (नेस) ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभागसहित नौवटा विभाग गठन गरेको छ । एमालेको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेर विभाग गठन गरिएको हो ।

ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा सोमबार बसेको स्थायी कमिटी बैठकले नौवटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग र प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन गरिएको छ ।

त्यसै गरी भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र देवेन्द्र कँडेलको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको छ । प्रवक्ता ज्ञवालीले गठन गरिएको विभागमा वरिष्ठ नेता माधव नेपाल पक्षका लागिसमेत ठाउँ खाली राखिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्