सबै खुले पनि ‘निषेधाज्ञा’ मकवानपुरमा दिनहुँ बढ्दै संक्रमित

588
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नाम मात्रको निषेधाज्ञाका कारण मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा दिनानुदिन संक्रमण बढेको हो । जिल्लामा बिहीबार ९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पीसीआर र ५१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा क्रमशः ९१ जना र ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा सबभन्दा बढी ७४ जना हेटौैंडा उपमहानगरका छन् । थाहा नगरपालिकाका १० जना, मनहरी गाउँपालिकाका ८ जना, बकैयाका ३ जना, भीमफेदीका २ जना र बागमती तथा मकवानपुरगढी गाउँपालिकाका १/१ जना रहेको कार्यालयले जनाएको छ । यसस“गै जिल्लामा हालसम्म १२ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएको छ । बुधबार जिल्लामा ६७ जनामा र मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोरोनाका कारण हालसम्म १ सय ४१ जनाको मृत्यु भएको छ । जिल्लामा ६ सय ६ जना सक्रिय संक्रमित रहेकोमा ५ सय ५४ जना घरमा र ५२ जना संस्थागत् आइसोलेसनमा उपचाररत् रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सर्वसाधारणले प्रशासनले नाममात्रको निषेधाज्ञा थपिरहेको गुनासो गरेका छन् ।

जिल्लामा सबैखाले पसल विहान ११ बजेदेखि साँझ ६ बजेसम्म, औषधी पसल, कृषि बीउबीजन तथा मल पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर, पुस्तक तथा पत्रपत्रिका पसल नियमित, अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसल विहान ४ देखि विहान ११ बजेसम्म र अन्य गैरखाद्य पसल विहान ११ देखि ६ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

रेष्टुराँ, मिठाइ तथा खाजा पसलबाट टेकअवे र होमडेलिभरी विहान ११ देखि साँझ ६ बजेसम्म भनिए पनि राति अबेरसम्म सञ्चालनमा छन् । सार्वजनिक यातायातका सवारी पनि रोकिएका छैनन् । उता, हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले त विद्यालयमा भौतिक उपस्थितिमै अध्यापन सुरु गरेको छ।पालिकाका सबै वडाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै अध्यापन सुरु गरिएको शिक्षकहरुले बताएका छन् ।

कक्षाकोठामा भौतिक पूर्वाधार नै नभए पनि ‘सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न’ निर्देशन दिइएको मकवानपुरगढी गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । स्वास्थ्य सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै थोरै समय विद्यालय खोल्न निर्देशन दिइएको उहाँले बताउउनुभयो ।

हेटौंडा उपमहानगरकाले भने विद्यालयले कुनै बहानामा विद्यार्थीलाई विद्यालयमा उपस्थित गराए कारबाही गर्ने चेतावनी दिएको छ । उपमहानगरपालिकाले सूचनालाई अटेर गरे संक्रामक रोग ऐनअनुसार कारबाहीको चेतावनी दिएको हो । ‘कोरोनाको जोखिम कायम रहेको अवस्थामा नगरका केही विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरिएपछि त्यसो गर्न/नगराउन सूचना जारी गरिएको हो,’ उपमहानगरपालिका निमित्त प्रशासकीय अधिकृत गंगाधर रिमालले बताउनुभयो ।

मकवानपुरमा नामात्रको निषेधाज्ञा थपिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो नाममात्रको निषेधाज्ञा नभएर आवश्यकता भएको दाबी गर्नुभएको छ । ‘निषेधाज्ञा भनेको लकडाउन अर्थात् सबै बन्दाबन्दी गर्नु होइन । मकवानपुरमा निषेधाज्ञा थप्नु आवश्यक भएकाले थपिएको हो ।

यसलाई नाममात्रको भन्न मिल्दैन,’ प्रजिअ पाण्डेले बुधबारको बैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको जानकारी दिनुभयो । जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएकाले अहिल्यै निषेधाज्ञा हटाउन मिल्ने अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘निषेधाज्ञामा पूर्णरुपमा व्यवसाय खुलेको छैन, सिनेमा हल, पार्टी प्यालेस, खेल मैदान अझै बन्दकै अवस्थामा छन् । प्रदर्शन र भेलालगायत कार्यक्रम गर्न अनुमति दिइएको छैन,’ प्रजिअ पाण्डेले भन्नुभयो ।