खोप नपाएको भन्दै पाल्पाका विद्यालयका शैक्षिक गतिविधि बन्द गरी शिक्षक आन्दोलनमा

952
Shares

न्युज अफ नेपाल, पाल्पा ।

सरकारले प्राथमिकतामा राखको पटक पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने बिषयमा सरोकारवालाको ध्यान नदिए पछि पाल्पाका शिक्षकहरुले सबै शैक्षिक क्रियाकलाप बन्द गरेका छन् । नेपाल शिक्षक महासंघ पाल्पाको आव्हानमा शिक्षकहरुको लागि कोरोना विरुद्धको खोप उपलब्ध नभएसम्म जिल्लाका शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरिएको हो ।

संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले साउन १४ गते बिहीबारबाट जिल्लाभरका शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । शिक्षकहरुको पेसागत संघ, संगठनहरुको संयुक्त बैठकले खोप उपलब्ध नभए सम्म बोर्ड परीक्षा, अनलाइन तथा अफलाइन कक्षा लगायत सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

महासंघले सरोकारवाला निकायहरूको ध्यानाकर्षण सहित जिल्ला प्रशासन कार्यालय पाल्पा तथा स्वास्थ्य कार्यालय पाल्पामा ज्ञापन पत्र समेत बुझाएको छ । समितिले शिक्षकहरुले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयलले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गरी जिल्लाभरका विद्यायहरुलाई पत्राचार गरेको छ । महासंघले शिक्षक कर्मचारीहरुको उच्च मनोबलका लागि कोभिड विरुद्धको खोपको व्यवस्था नहुँदा सम्म सवै शैक्षिक कार्यक्रम स्थगित गरि आन्दोलनमा उत्रिएको र माग पूरा नहुदा सम्म आन्दोलन जारी राख्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो ।

शिक्षकले दवाव स्वरुप े बिहिबार र शुक्रबार जिल्ला शिक्षा समन्वय इकाईमा २ घण्टा धर्ना समेत दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पोखरेलले शिक्षकहरुलाई खोपको व्यवस्था नहुँदासम्म शैक्षिक गतिविधि बन्द गर्ने साथै शिक्षक तथा कर्मचारीहरुलाई सबैलाइ व्यवस्था नहुदा सम्म सम्म थोरै मात्रामा उपलब्ध खोप नलगाउने बताउनु भयो । शिक्षकहरुले उमेर समूह अन्र्तगत खोपको सुविधा पाए पनि सवैलाई खोपको सुनिश्चितता नभएको जनाउदै विहीवार उपलव्य गराइएको खोप समेत वहिष्कार गरेका छन ।

पाल्पा जिल्लामा सामुदायिक र संस्थागत गरी जम्मा ५ हजार ७ सय ३१ जना शिक्षक तथा कर्मचारी रहेको र सवैलाई अविलम्व खोपको व्यवस्था गरिनु पर्ने माग आफूहरुलको रहेको गरिएको नेपाल शिक्षक महासंघका अध्यक्ष धनकला गाहाले वताउनु भयो ।