अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम

518
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

थोरै, तर कालजयी गीत गाएर लोकप्रिय र अमर बनेका गायक हुन् स्व. अरुण थापा। भक्तपुर सांगीतिक समाजले उनै सदावहार गायक थापाको सम्झनामा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।

थापाको २२औं स्मृति दिवसको अवसर पारेर हालै समाजले सो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा गायक थापाले गाएका लोकप्रिय गीतहरूलाई विभिन्न नयाँ तथा पुराना कलाकारहरूले प्रस्तुत गरेका थिए। राष्ट्रिय गीत करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल बोलको धुनबाट शुरू भएको सांगीतिक श्रद्धाञ्जलि कार्यक्रममा गायक शम्भोचरण राजभण्डारीले तिमी राम राम भजी बाँच भन्ने कामना गरे भने गायक सत्यनारायण प्रजापतिले चोट के हो व्यथा के होमार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाए। आयोजक समाजका उपाध्यक्षसमेत रहेका गायक कपिल कसपालले ऋतुहरूमा तिमी हरियाली वसन्त हौमार्फत गीत—संगीत क्षेत्रका वसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले भुलुँ भुलुँ लाग्यो गाउँदै गायक थापालाई भुल्न नहुनेमा जोड दिए। यसैगरी, गायक कुबेर राईले जति माया लाए पनि जति कसम खाए पनि बोलको गीत थापाको स्मृतिमा समर्पण गरे भने आँखाको निँद चोरी लाने बोलको गीतलाई गायक श्रीजल मधिकर्मीले प्रस्तुत गरे। कार्यक्रममा गायक सुनील लोहलाले लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सम्झाए। सांगीतिक कार्यक्रमलाई निरन्तरता दिँदै थापाको सम्झनामा गरिएको समाजको यो चौथो कार्यक्रम हो।

नेपाली गीत—संगीतको संरक्षण र संवद्र्धनमा समर्पित संस्था समाजले गीत—संगीतमार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जलि प्रकट गर्न कार्यक्रम गरिएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए। कोभिड—१९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मकरूपमा थोरै मानिसहरूको उपस्थिति रहे पनि गुणात्मकरूपमा कार्यक्रम सम्पन्न गरिएको बताए। भक्तपुर दूधपाटीस्थित होटल द तिशा इनमा सम्पन्न भएको कार्यक्रममा किबोर्डमा संगीतकार कृष्ण सुन्दर सुखुजु, हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनील लोहला, गितारमा सरोज केसी र तबलामा रोशन भासिमाले साथ दिएका थिए। थापालाई उनैले गाएका गीत—संगीतमार्फत सम्झना गरिएको हो। २००८ सालमा जन्मिएका थापाको २०५६ साल साउन ५ मा काठमाडौंमा निधन भएको थियो।

उक्त अवसरमा गायक थापाको कर्णप्रिय गीत चोट के हो व्यथा के होका रचनाकार समेत रहेका वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीले गायक थापाजस्तै अन्य सदावहार गायक—गायिकालाई पनि समाजले सम्झनुपर्ने बताए। सांगीतिक समाजका अध्यक्षसमेत रहेका गायक प्रवीण शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन किरण सुवालले गरेका थिए। उक्त अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रञ्जित र रबिन थापालाई सम्मान गरिएको थियो।