सेयर बजारमा नयाँ रेकर्ड कायम



काठमाडौं (नेस) ।

गत सातादेखि नै लयमा रहेको सेयर बजारले आईतबार ऐतिहासिक उचाई लिएको छ । आइतबार नेप्से परिसूचक करिब ५५ अंकले बढेर सेयर बजार हालसम्मकै उच्च ३०५८ विन्दुमा पुगेको छ ।

यसअघि, गत जेठ ३१ गते नेप्से ३०२५ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । सरकार परिर्वतन भएपछि निरन्तर उकालो लागेको सेयर बजारले आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाउन सफल भएको हो ।

कारोबार रकमका हिसाबले भने जेठ ३० गते २० अर्ब रुपैयाँको सेयर किनबेच भई सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो । उक्त रेकर्ड भने अहिले पनि तोडिएको छैन ।

आइतबार नेपाल बैंकको सर्वाधिक करिब ५० करोड रुपियाँको सेयर किनबेच भएको छ । ग्लोबल आइएमईको ४९ करोड ४७ लाख, एनसीसी बैंक ३४ करोड ७८ लाख, अरुण काबेली पावरको ३४ करोड र एनआइसी एसिया बैंकको समान ३३ करोड ८० लाख रुपियाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

विशाल बजार कम्पनी, ङादी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत्, पञ्चकन्या माइ हाइड्रो, जोशी हाइड्रो, युनिभर्सल पावर, कालिका पावर र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

होटल र म्युचुअल फन्ड बाहेक सबै समूह उकालो लागेको छ । आइतबार बैकिङ समूह सक्रिय भएको छ । बैंकिङ उपसमूह ७२ अंकले बढ्दा लघुवित्त समूह ८२ अंक र उत्पादन र जलविद्युत् समूह समान ७१ अंकले बढेका छन् ।

त्यस्तै, निर्जीवन बिमा समूह ४८ अंकले बढेको छ भने जीवन बिमा समूह ३६ अंकले बढेको छ । फाइनान्स समूहसमेत २४ अंकले बढेको छ ।
२२३ कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी अन्य कम्पनीको मूल्य भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्