गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा तिवारीको उम्मेदवारी, यस्ता छन् एजेण्डा

840
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्ष पदमा भवानी तिवारीले उम्मेदवारी दिएकी छन् । सन् २००५ देखि नै गैरआवासीय नेपाली संघ, अष्ट्रियासँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न रहँदै आएकी तिवारीले साथीहरुको सहयोग, आफ्नै अनुभव र मेहनतले गर्दा नै राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको अध्यक्ष पदमा जिम्मेवारी लिने साहस जुटाउन सफल भएको बताएकी छन् । उनले अष्ट्रियामा रहेको नेपाली समाजलाई एउटा छुट्टै खालको पहिचान दिने अभिभारासहित नेपाली समुदायको मर्म र भावनालाई कदर गर्दै मातृभूमिको लागि सक्दो साथ रहने प्रतिवद्धता जनाएकी छन् ।

“अष्ट्रियाको सुन्दर र सानो नेपाली समाजलाई एउटा छुट्टै खालको पहिचान दिने इच्छा छ, यही नै मेरो एजेण्डा हो– म जबाफ दिनेगर्छु । यहाँको नेपाली समुदायको मर्म र भावनालाई कदर गर्दै मातृभूमि नेपालको लागि सक्दो साथ रहने प्रतिवद्धता पनि जनाउँछु”, उनले भनिन् “विभिन्न जाति, धर्म, पेशा लिएर बसेको स्थानीय नेपाली समाज, संघ–संस्थाहरुबीच सम्बन्धका साझा आधारहरुको खोजी मेरो अर्को एजेण्डा हो । टाढिन चाहनेहरुका लागि जात, धर्म, पेशा, राजनीतिक आस्था आदि अनेक आधार भेटिन्छन्, तर एकीकृत भएर रमाउनका लागि पनि हामीसँग धैरे साझा आधारहरु छन्, म यी आधारहरुको प्रवर्धनमा समर्पित हुनचाहन्छु । नेपाली–नेपालीबीच प्रतिस्पर्धा गरेर र ठूलो भएको अभिमान देखाएर जित्नु के छ ? अर्थात्, नेपालीहरुबीचको समन्वय मेरो एजेण्डा हो । “

यस्तै, कार्यसमितिको अध्यक्षमा आफूलाई मतदान गरी आफूले उठाएको नेपालीहरुबीचको समन्वयको एजेण्डामा पूर्णसाथ दिन तिवारीले अष्ट्रियाका नेपाली समुदायलाई आग्रह गरेकी छन् ।

यस्ता छन् उनका एजेण्डा: 

१. अष्ट्रियामा रहेको नेपाली समाज र संघ–संस्थालाई गोलबद्ध गर्दै एकताको सूत्रमा गाँस्ने

२. संघ–संस्थालाई सुचारु रुपमा अघि बढाउन आर्थिक अवस्था पनि बलियो बनाउन जरुरी भएका कारण नयाँ बन्ने कार्यसमिति (विजयी पदाधिकारीहरु) लगायत अष्ट्रियावासी अग्रज अभियन्ताहरुको सरसल्लाह, सहयोग र सहमतिमा एक कोषको स्थापना गर्ने ।

३. अष्ट्रियामा आवासीय कागजातको पर्खाइमा रहेका नेपालीहरुलाई सघाउन संगठित प्रयास चाल्ने । यसका लागि सर्वप्रथम समस्या पहिचानका लागि सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने, विधागत रुपमा समस्याअनुसार समाधान खोज्ने र सहयोगका लागि एनसिसीको निगरानीमा एउटा छुट्टै टीम तयार गरी जिम्मेवारी दिइने

४. गैरआवासीय नेपाली संघको विधि–विधानले तोके बमोजिम पदीय मर्यादामा रही पदाधिकारीहरुले गर्नुपर्ने जिम्मेवारी छुट्याइने र कार्यकालभर सोही कार्यतालिका अनुसार भूमिका निर्वाह गर्ने वातावरण बनाउने

(क) पदीय मर्यादा क्रमको ध्यान दिदै तीन जना उपाध्यक्ष र दुई जना सचिवको जिम्मेवारी छुट्याइने, त्यसमा स्थानीय स्तर र केन्द्रीय स्तरको जिम्मेवारीबारे सुरुदेखि नै प्रष्ट गराई काम गर्न सहज वातावरण सिर्जना गर्ने

५. अष्ट्रियास्थित नेपाली समुदायको आर्थिक अवस्था बलियो बनाउँन संस्थागत पहलका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आबद्ध अग्रज अभियन्ताहरुसंँग सहकार्य गर्न सक्रिय भूमिका निभाउने

६. अष्ट्रियामा अध्ययनका लागि आएका नेपाली विद्यार्थीलाई समेटेर अन्तरक्रिया गर्ने, उनीहरुका समस्या पहिचान गरी सघाउने

७. नेपाली भाषा, कला–सस्कृति र परम्परालाई जोगाउने र संरक्षण सम्वर्धन गर्ने

८. विगतमा आएका परामर्श, सुझाव र सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने

९. अष्ट्रियामा रहेको नेपाली समुदायका सबै सदस्यहरुको सहज पहुँचमा रही निरन्तर स्वयंसेवी भावका साथ सेवा गर्ने कार्यसमितिको निर्माण तथा परिचालनका लागि समर्पित रहने