कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान

238
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रभागमा रहेर खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज सम्मान’ प्रदान गरिएको छ । सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकाद्वारा संयुक्त रुपमा संचालित रत्नराज्य आइसोलेसन केन्द्रमा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक , एम्बुलेन्स चालक र आइसोलेसन व्यवस्थापन र संचालनमा सहयोग गर्ने दाताहरुलाई बिहिबार एक कार्यक्रम गर्दै सम्मान गरिएको हो ।

जुगल र बलेफी गाउँपालिकाका ४६ स्वास्थ्यकर्मी, ११ जना व्यवस्थापन कर्मचारी र १५ जना सहयोगी दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको हो । कोरोना संक्रमणको दोस्रो लहरमा जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले बराम्चीस्थित रत्नराज्य माध्यमिक विद्यालयमा संयुक्त रुपमा आइसोलेसन केन्द्र संचालन गरेपछि जुगल र बलेफीका झण्डै एक सय जनाले कोरोनालाई सहजै जिते ।

स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक तथा स्वयंसेवकहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै उनीहरुको कदरस्वरुप सम्मान गरिएको हो । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बुधबार आइसोलेसन केन्द्रमा खटिएका सबैलाई खादा ओढाउँदै सम्मानपत्र प्रदान गर्नुभयो । ‘स्वास्थ्यकर्मी र आइसोलेसनमा खटिएका कर्मचारीहरुको अहम भुमिकाले हामीले कोरोना जितेका छौँे’, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा बोल्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले आइसोलेसनमा मन, वचन र कर्मले खटिएकाहरुप्रति कृतज्ञता ब्यक्त गर्नुभयो । ‘कोरोना नियन्त्रणमा खटिनुभएका तपाइँ सबैप्रति हामी कृतज्ञ छौँ’, अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

कार्यक्रमकाबीच रत्नराज्य आइसोलेसनबाट कोरोना जितेर फर्कीएकाहरुले आइसोलेसन बसाईको अनुभव सुनाए । गाउँमै व्यवस्थित र सुविधासम्पन्न आइसोलेसन केन्द्र राखिएपछि कोरोनाबाट बाँच्न सफल भएको भन्दै बलेफी गाउँपालिका ४ की मीन कुमारी कार्कीले खुसी ब्यक्त गर्नुभयो । ‘बाँच्छु जस्तो लागेकै थिएन, बेलैमा आइसोलेसन पु¥याएपछि कोरोना जितेर घर फकीएँ’, मीनकुमारीले खुसी ब्यक्त गरिन्, ‘आइसोलेसनमा डाक्टर कर्मचारीका मायाँ र हेरचाहले बाँचेको हुँ ।’

आइसोलेसनमा रहँदा कुनैपनि कुराको कमी महसुस नभएको जुगल गाउँपालिकाकी दुर्गाकुमारी थापाले बताउनुभयो । स्वयंसेवक बनेर आइसोेलेसनमा सफाई कर्मचारीका रुपमा खट्नुभएकी शर्मीला नेपालले कार्यक्रमकाबीच आफ्नो अनुभव र भोगाई सुनाउनुभयो ।