प्रधानमन्त्रीसँग जापान र अष्ट्रेलियाका राजदूतको भेट

7.52k
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतले आज बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए। हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका विविध विषयमा उनीहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी, प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गरेका उक्त मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताए ।