नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस) । 

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३ दशमलव ९७ अंकले बढेर २९९४ दशमलव ५८ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार रुपियाँ पुगेको छ ।

सोमबार कारोबारका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३५ करोड ४१ लाख ६६ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३३ करोड १८ लाख १२ हजार, नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख २१ हजार, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ३० करोड ९६ लाख ८९ हजार र सिनर्जी पावरको २८ करोड ९९ हजार रुपियाँबराबरको शेयर किनबेच भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये पाँच समूहको परिसूचक घट्दा आठ उपसमूहको परिसूचक भने बढेको छ ।

जसमध्ये व्यापार समूह १९६ दशमलव शून्य २ अंकले बढ्दा बैंकिङ १० दशमलव ८४, निर्जीवन बीमा समूह १०१ दशमलव ४४, उत्पादन समूह ४१ दशमलव २३, अन्य समूह १६ दशमलव ८७, जीवन बीमा समूह ५३ दशमलव १५, सामूहिक लगानी कोष समूह शून्य दशमलव १ र लगानी समूह १ दशमलव ५९ अंकले बढेको छ । यस्तै होटल तथा पर्यटन समूह १६ दशमलव शून्य ४, विकास बैंक १८ दशमलव ३, जलविद्युत् समूह १ दशमलव ५४, वित्त समूह २९ दशमलव ७९ र लघुवित्त समूह ४ दशमलव ४२ अंकले घटेको छ ।

त्यस्तै सिनर्जी पावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै विशाल बजार कम्पनीको ९ दशमलव २०, नेपाल इन्स्योरेन्सको ७ दशमलव ५७, नागरिक लगानी कोषको ६ दशमलव ४० र हिमालयन ऊर्जा विकास कम्पनीको ५ दशमलव ९८ प्रतिशतले शेयर मूल्य बढेको छ । उता नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र, सनराइज बैंकको ऋणपत्र, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स र एचआईडीसीएलका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्