लुम्बिनीमा अध्यादेशमार्फत बजेट, विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्रीको राजीनामा माग

504
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारसँग व्यवहारिक रुपमा बहुमत नरहेकाले अध्यादेश मार्फत बजेट ल्याएको स्विकार गर्नु भएको छ । अध्यादेश मार्फत बजेट ल्याएपछि शुक्रबार पत्रकार सम्मेलन गरि आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले बाध्यतात्मक अवस्थाले अध्यादेश मार्फत बजेट ल्याएको बताउनु भयो ।

‘राजनितिक रुपमा हामीसँग ४५ मत हो, तर अहिले व्यवहारिक रुपमा हामीसँग ४१ मत छ’ मन्त्री चौधरीले भन्नु भयो –‘विपक्षी पनि ४१ नै भएकाले सहमतीमै बजेट ल्याऔं भन्ने हाम्रो प्रस्ताव थियो, नमानेपछि नियमित काम र खर्चका लागि अध्यादेश ल्याइएको हो ।’ लुम्बिनीमा ८३ सांसद कायम छ । सरकारको बहुमतका लागि भने ४२ जना सांसद आवश्यक पर्छ । यसअघि जसपाका ४ जना मन्त्री बनेकाले सरकारको पक्षमा बहुमत थियो । तर, राज्यमन्त्रीबाट सुमनशर्मा रायमाझीले राजीनामा दिएर विपक्षी गठबन्धनमा सामेल भएकाले सरकार अल्पमतमा रहेको विपक्षीहरुको आरोप छ ।

प्रवक्ता चौधरीले विपक्षी दलहरुसँग बजेटलाई झगडाको बिषय नबनाउन आग्रह गरेको बताउँदै विपक्षीकै कारण अध्यादेशको बाटो रोज्नुपरेको बताए । उनले बराबर मत रहेको अवस्थामा सभामुखले विपक्षीको पक्षमा लविङ गरेको आरोप लगाउँदै छलफलका लागि बाहिरिएको तर्क गरे । उनले विपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियासँग बजेट पारित गर्ने र सरकारले विश्वासको मत लिने गरि सहमती भएकोमा त्यो कार्यान्वयन नभएको बताउनु भयो ।

उहाले राजनीनितिक झगडाका कारण शुल्क कर र राजस्व संकलन तथा नियमित खर्च प्रक्रियामा असर नपार्न अध्यादेशमाफर्त बिनियोजन र आर्थिक विधेयक जारी गरिएको बताउनु भयो । उहाले अध्यादेश वाध्यात्मक भनेपनि दुवै बिधेयक निर्णायर्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदहरु नै बाहिरिएका थिए ।

मन्त्रिपरिषदको विहान बसेको बैठकले अध्यादेश मार्फत आर्थिक र विनियोजन विधेयक जारी गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुख कार्यालयले भने दिउँसो साँढे २ बजे मात्रै अध्यादेश जारी गरेको सूचना जारी गरेको हो । सरकारले संसदमा पेश गरेको बजेटलाई नै हुबहु अध्यादेश मार्फत जारी गरेको हो ।

मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। यादवले बिहिवार राति नै अधिवेशन अन्त्य भएको जानकारी प्रदेश सभालाई गराउनु भएको थियो ।प्रदेश सरकारले आज अध्यादेश मार्फत बजेट जारी गरेपछि रुष्ठ भएको विपक्षी गठबन्धनले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रका बसन्त घती र नेपाली कांग्रेसका प्रमुख सचेत्तक फकरुद्धिन खानले पत्रकार सम्मेलनमार्फत माग गनु भएको छ ।