भोकले सताएपछि आत्महत्याको प्रयास

3.4k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

उहाँले पहिले नै घरपरिवार छाडेर हिँड्नुभएको थियो । हाल घरपरिवार कहाँ छन् भन्ने थाहा नभएको उहाँ बताउनुहुन्छ ।

पर्वत कुश्माका करिब ६० वर्षीय रामबहादुर कार्कीकै भनाइअनुसार उमेरमा काँचो मासु धेरै खाएकाले पेटमा कीरा पर्‍यो रे । अलिअलि काम गर्न सक्नुहुन्थ्यो । त्यसैले जीविकोपार्जन चलेको थियो । तर, कोरोना कहरका कारण गरिएको लकडाउनपछि रोगसँगै भोकले सताउन थाल्यो ।

अनि, उहाँले आत्महत्याको बाटो रोज्ने प्रयास गर्नुभयो । मंगलबार दिउँसो करिब ४ बजे उहाँले आत्महत्याको प्रयास गर्नुभयो । प्रहरी र उहाँको उद्धारकर्ता मानवसेवा आश्रम परिवारसँग कुरा गर्दा भागेर आत्महत्या प्रयास गर्ने बताउनुहुन्छ उहाँ ।

उहाँको मुख्य समस्या भनेको काँचो मासु धेरै खाएर पेटमा परेको कीरा बिस्तारै दिमागसम्म पुगेर मानसिक रोगी बनाउने रहेछ । उहाँको बानी/व्यवहार र रोग उहाँको आत्महत्या प्रयासको कारक हुनसक्ने आश्रमको आशंका छ ।

बागलुङ जिल्लाको प्रवेशद्वार रहेको मालढुंगाको नयाँ पुलबाट उहाँले हाम्फाल्ने प्रयास गर्नुभएको थियो । तर, उहाँको प्रयास असफल भयो । शारीरिकरुपमा कमजोर रहेका कारण उहाँको खुट्टा पुलमा अड्कियो । त्यसपछि प्रहरीले उहाँको उद्धार गर्‍यो ।

सोही ठाउँमा अवलोकन गर्न जाने क्रममा बागलुङका प्रमुख जिल्ला अधिकारीले उद्धार गरिएका व्यक्ति र प्रहरीसँग कुराकानी गर्नुभएको आश्रम बागलुङ जिल्ला संयोजक सुमिरा लामाले बताउनुभयो । त्यसपछि उहाँलाई प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको सम्पर्कमा रहने गरी मानवसेवा आश्रम बागलुङ शाखामा राखिएको आश्रमको केन्द्रीय कार्यालय हेटौंडाले जनाएको छ ।

उहाँलाई चिन्नेले पारिवारिक वातावरण जुटाइदिएर उहाँमा भएको मानसिक र शारीरिक समस्या उपचारका लागि सहयोग गरिदिन अनुरोध गरिएको संयोजक लामाको भनाइ छ ।

सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण, दयनीय एवम् पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिस, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवको सेवा गर्न २०६९ भदौ १३ गते हेटौंडामा केन्द्रीय कार्यालय रहने गरी सेवा थालिएको हो ।

सडकमानवको उद्धार, उपचार, परामर्श एवम् पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसकेकाहरुको सहारा बनेर लालनपालन, औषधोपचार र संरक्षण गर्दै आएको एक परोपकारी सामाजिक संस्था हो आश्रम ।