कोभिडको व्यथामा घर आउ


अमेरिकामा निर्मित घर आउ लघु चलचित्र विभिन्न देशका चलचित्र महोत्सवमा छनोट भएको छ।आमा नेपालमा, छोरा अमेरिकामा। तीनै आमा र छोराको भिडियो कलसँगै कथा अगाडि बढ्छ अमेरिकामा निर्मित छोटो फिल्म घर आउको।

फिल्मको कथा छ कोभिडको व्यथा। कोभिडले विश्व आक्रान्त बनेको बेला नेपालमा आमाको चिन्ताको कुनै सीमा हुँदैन, छोराले सुरक्षित छु भन्दै आमालाई आश्वस्त बनाउँछ। छोरालाई पनि चिन्ता छ– कतै नेपालमा आमा र परिवारलाई पनि कोभिड संक्रमण हुने त होइन? घरघरको यस्तो व्यथालाई सर्लक्कै फिल्ममा उतारेकी छिन् निर्देशक किर्तना बासकोटाले।आमाको भँमिका निर्वाह गरेकी छिन् उमादेवी विश्वकर्माले। छोराको भँमिकमा सौरमराज तुलाधर छन्। अमेरिका पढ्न गएका सौरमराजको पढाइ रोकिन्छ, लकडाउनमा कैद हुन्छन्। यता आमा व्यग्र हुन्छिन्। अहिले पढाइ छैन, त्यसैले खुरुक्क घर आउनु भनेर आमाले कडा आदेश दिन्छिन्। आमाको आदेश जति कडा हुन्छ, माया उति धेरै हुन्छ। छोराछोरी विदेशमा, बाआमा नेपालमा।

कोभिड महामारी बीच नेपाली समाजमा चिन्ताको महामारी पनि फैलियो। चिन्ताको त्यो महामारीलाई घर आउमा जीवन्त बनाएर उतारेका छन् कलाकारहरूले। घर आउ फिल्म टोली अहिले दंग छ। ‘किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा घर आउ चयन भएको छ’ निर्देशक बासकोेटा भन्छिन्।नायकका रूपमा परिचय बनाइसकेका सौरमराज अमेरिकामा सिनेकर्ममै व्यस्त छन्।उमादेवीको भने अभिनय र सिनेकर्मसँग विगतमा खासै सम्बन्ध थिएन। तर, उनले खारिएको र जीवन्त अभिनय गरेकी छिन्।यो फिल्म सर्व साधारणले सजिलै हेर्न पाउने छैनन्। फिल्म फेस्टिभलहरूमा मात्र हेर्न पाउनेछन्। अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा यसले अडियन्स च्वाइस अवार्ड जितिसकेको छ भने भ्यान्कुभर इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनोट भएको छ। त्यसैगरी न्युयोर्क लिप्mट अफ फिल्म फेस्टिभल, टोकियो लिप्ट अफ फिल्म फेस्टिभल र टर्कीमा हुने फिल्म फेस्टिभलमा पनि छनोट भएको किर्तनाले जानकारी गराइन्।