आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य



भूपराज बस्याल, काठमाडौं । 

आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै सञ्चालनमा आउनेछ । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागू हुनेछ ।नेपालमा खरिद गरिएका मोबाइल नेपाल भित्र्याउने कम्पनीले दर्ता गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रण गर्न मोबाइल दर्ता अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।साउन १ गतेभन्दा पहिले सञ्चालनमा आएका मोबाइलमा कुनै समस्या नदेखिने भए पनि आजदेखि भने आईएमईआई दर्ताबिना नेपालको नेटवर्कमा मोबाइल सञ्चालन नहुने दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालको भनाइ छ । नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको रेकर्डिङ प्राधिकरणसँग हुने हुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको उहाँको तर्क छ ।

आजदेखि गैरकानुनी ढंगबाट भित्रिएका मोबाइललाई प्राधिकरणको वेवसाइडमा गएर दर्ता गरेर मात्र सञ्चालन गर्न सकिने अर्यालले बताउनुभयो । प्रत्येक मोबाइलमा आईएर्मइआई नम्बर हुन्छ त्यो दर्ता हुनुपर्छ । त्यसको आधारमा मोबाइलको सबै जानकारी पत्ता लाग्ने हुँदा उक्त दर्ता अनिवार्य गरिएको अर्यालको तर्क छ ।त्यसका लागि मोबाइलमा ८३ण्ट३ डायल गरेर चेक गर्न सकिनेछ । अब साउन १ गतेदेखि मोबाइल खरिद गर्दा खरिद गर्न लागेको मोबाइलको आईएमईआई नम्बर चेक गर्न उहाँले सुझाव दिनुभयो । यसरी आईएमईआई नम्बर चेक गर्दा दर्ता भएको मोबाइलमा दर्ता भएको देखिने र दर्ता नभएको मोबाइल दर्ता नभएको देखिने हुँदा खरिदकर्तालाई मोबाइल खरिदमा सजक हुन अर्यालको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्