सत्तापक्षद्वारा लुम्बिनी प्रदेश सभाको बैठक बहिष्कार, बैठक स्थगित

280
Shares

यमलाल भुसाल, बुटवल ।

सरकार पक्षका सांसदहरुले नै लुम्बिनी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन ।सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । विपक्षी दलहरुले बजेट छलफल अगाडि नै यसको निर्क्योल गर्नुपर्ने मत राखेका छन् ।त्यसका लागि सत्तारुढ दल तयार नभए पनि विपक्षी दलहरुले बजेटमाथि सैद्धान्तिक छलफल गर्न सहमत भए ।

मन्त्रालयगत छलफल सकेर मन्त्रीहरुका साथै मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार जवाफ दिए । त्यसक्रममा मुख्यमन्त्री पोखरेलले बजेटबारे निर्णय गर्नुअघि दलहरुबीच छलफल गर्नुपर्ने भन्दै समय मागे ।

एमाले प्रमुख सचेतकले पनि दलहरुबीच छलफलका लागि केही समय दिन आग्रह गरे । तर विपक्षी दल लगातार छलफल गर्दा पनि सहमति नभएको बताए लगत्तै मुख्यमन्त्री पोखरेल र सत्तारुढ दलका सांसदहरु बैठक छाडेर हिंडेका छन् । शुक्रवार दिउसो १ वजेसम्मका लागि सूचना टासेर बैठक स्थगित गरिएको छ ।