गोठालोको कथामा भिडियो


मकोट, (नेस)।

हुम्ला जिल्लाका युवाले पुर्खालाई सम्झिँदै गोठालोको कथामा निर्माण गरेको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ।मध्यपश्चिम तथा सुदूरपश्चिममा देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो निर्माण गरेका हुन्।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टालाई टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै म्युजिक भिडियो छांयाकन गरिएको युवाहरूले बताएका छन्। बजारमा रिमिक्स, आधुनिक, लोकगीत–संगीत हावी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएको बेलामा स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायांकन गरिएको निर्देशक पदमराज हमालले बताए। जिन्दगी अधुरो बनाई छोडी बाईगई माया बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताए। गोठालाको दुःखपीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ।

गीतमा स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्द रहेको छ। म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारले अभिनय गरेका छन्। गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय छ। जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायांकन गरेका हुन्।