अर्थमन्त्री शर्माद्वारा कोरोना विरुद्धको खोप खरिदका लागि ५ अर्ब रकम निकासा

154
Shares

काठमाडौं ।

नयाँ सरकार गठन भए लगत्तै सरकारले कोरोना बिरुद्धको अभियानलाई प्राथमिकतामा राखी खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्बको स्वीकृति दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो निर्णय कोरोना बिरुद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई रकम दिने बिषयमा अर्थमन्त्री जनार्दन शर्माले हस्ताक्षर गर्नुभएको हो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वमा सरकार बने लगत्तै मंगलबारै पहिलो मन्त्रीपरिषद् बैठक बसी कोरोना नियन्त्रणको एउटै उपाय खोप मात्र भएकाले आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने निर्णय गरेको थियो ।

सोही निर्णयको कार्यान्वयनका लागि अर्थमन्त्री शर्माले कोरोना नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गर्दै उक्त रकम निकासा गर्ने बिषयमा हस्ताक्षर गर्नुभएको हो । पहिलो हस्ताक्षरबाट निकासा गरिने रकम संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुने अर्थ मन्त्रालयले जनाएकोछ ।

सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय रकम हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभएको हो । अर्थ मन्त्री शर्माले कोरोना संक्रमणका कारण विगत बर्ष देखि नेपालको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा सरकारले नीजि क्षेत्रसँग समेत सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको बताउँनुभयो ।