ओलीले बालकोट पुगेर भने – ‘पार्टीमा माधव नेपालले आत्मालोचना गर्ने ठाउँ छैन’

238
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बरिष्ठ नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।बुधबार सरकारी निवास बालुवाटार छोडी निजी निवास बालकोट पुग्नुभएका ओलीले निवासको बार्दलीबाट समर्थकहरुलाई सम्बोधन गर्दै सरकार एमालेको सरकार ढाल्न नेता नेपालले अगुवाइ गरेको बताउनुभयो ।

ओलीले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर माधव नेपालको हकमा त्यो सम्भव नरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविष्यले निर्धारण गर्ला त्यसो त अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताउनुभयो ।ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताउनुभयो ।

पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उहाँले बताउनुभयो ।हिजोमात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गर्नुभयो।

उहाँले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको र नेपाली जनताको अधिकार खोसिएको बताउनुभयो ।सरकारको मूल्यांकन गर्न पाउने जनताको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कँही नभएको जात्रा भएको बताउनुभयो । चुनावपछि फेरि आफू नै प्रधानमन्त्री बन्ने बताउँदै उहाँले आफू गल्ती गरेर र काम गर्न नसकेर नभई राम्रा काम गर्दागर्दै षड्यन्त्रका कारण पदबाट बाहिरिनुपरेको बताउनुभयो ।देश विकास, राष्ट्रलाई एकजुट, संविधान कार्यान्वयन, अन्तर्राष्ट्रिस्तरमा नेपालको छवी उँचो बनाएर काम आफूले सरकारमा रहँदा गरेको उहाँको भनाई थियो ।

ओलीले जालीझेलीहरुले सधैँ सर्वोच्चको परमादेशको किस्तीमा प्रधानमन्त्री नपाउने बताउनुभयो ।उहाँलाई बालुवाटारबाट पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पुर्याएका थिए । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेर सवा १ बजे बालकोट पुग्नुभएको थियो ।

ओली बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा–जुलुस गरिएको थियो।‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको थियो ।ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका र हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरेका थिए ।

कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन् ।उहाँको स्वागतमा कौशलटारबाट बालकोट जाने सडक खाली गराइएको थियो भने ठाउँठाउँमा स्वागतका लागि घडा राखिएका थिए ।ओलीलाई निवासमा केन्द्रीय नेता,जिल्ला नेता तथा समर्थकहरुले बाजा गाजा सहित स्वागत गरेको थिए ।