१ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रियामा



काठमाडौं, (नेस) । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख खोप खरिद गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले भारतबाट कोभिसिल्ड अनुदानमा ११ लाख र १० लाख मात्रा खरिदबाट, चीनबाट भेरोसेलको १८ लाख मात्रा अनुदान र ८ लाख मात्रा खरिदबाट र कोभ्याक्स सुविधामार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप १५ लाख मात्रा नेपालमा आइसकेको र हालसम्म २६ लाख नागरिकले एक मात्रा र १० लाखले दोस्रो मात्रा समेत लगाइसकेको बताउनुभयो । उहाँले मंगलबार जापानले थप १६ लाख मात्रा एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत पठाउने निर्णय गरेको पनि उल्लेख गर्दै कोभ्याक्सले थप ३ लाख ५० हजार मात्रा पठाउन लागेको समेत जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने थप ६० लाख मात्रा फाइजरको खोप पनि खरिद गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो– ‘सन् २०२१ को अन्त्यसम्ममा अधिकांश नागरिकले खोप पाउनेछन् । त्यसका लागि खोपको व्यवस्था गरेका छौं । खोप आउने क्रम र लाउने क्रम शुरु भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्