नेपाली जनताको छनोटलाई चीनले समर्थन गर्छ : राजदूत यान्छी



सरस्वती कर्माचार्य, काठमाडौं ।

नेपालको आन्तरिक राजनीतिमा उथलपुथल आइरहेकै बेलामा छिमेकी राष्ट्र चीनले भने नेपाली जनताको छनोटलाई चीनले समर्थन गर्ने बताएको छ । नेपालमा कम्युनिष्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दै ठूलो पार्टी एमालेको सम्भावित विभाजन रोक्न समेत सक्रिय भूमिका खेलिरहेका चिनियाँ राजदूत होउ यान्छीले सोमबार संसद पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुनु अघि भच्र्युअल पत्रकार सम्मेलन गरी नेपाली जनताको छनौटलाई चीनले समर्थन गर्ने प्रष्ट पार्नुभएको हो ।

राजदूत यान्छीले चीनको सहयोगको बारेमा बोलिरहेकै बेला नेपालको सहयोगको समेत स्मरण गर्दै मानव अधिकार र कोभिड–१९ भाइरसको उत्पत्तिको विषयमा चीनविरुद्ध केही देशहरू लागि परेको बेलामा नेपालले चीनको पक्षमा बोलेर गरेको सहयोगलाई चीनले कहिल्यै नबिर्सने पनि बताउनुभयो ।

उहाँले पत्रकार सम्मेलनमा नेपालको शान्ति, विकास र प्रगतिका लागि सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्नेमा जोड दिंदै नेपालको मामिलामा मात्र होइन, विश्वकै शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवद्र्धन गर्न चीन प्रतिबद्ध रहेको बताउनुभयो ।

यति मात्रै होइन, राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भएता पनि चीन विकासोन्मुख राष्ट्रहरूको भरपर्दो मित्र र निष्कपट साझेदार रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले चीनले हालै स्थापना गरेको चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण र सहकार्य केन्द्रले नेपालको गरिबी निवारणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनकै क्रममा राजदूत यान्छीले चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’ अर्थात बिआरआईमा नेपालको अर्थपूर्ण सहभागिताको अपेक्षा व्यक्त गर्दै यसका लागि नेपाललगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरूसँग मिलेर निरन्तर काम गर्न चीन तयार रहेको बताउनुभयो ।

उहाँले बिआरआई पूर्वाधार निर्माण वा सडक सञ्जाल विस्तारको विषय मात्र नभई हरित उर्जा, दीगो विकासलगायतका विषय पनि रहेको उल्लेख गर्दै बिआरआई अन्तर्गत बहुआयामिक सीमापार कनेक्टिभिटीले बिस्तारै आकार लिँदै गएको पनि बताउनुभयो ।

राजदूत यान्छीले कोरोना महामारीविरुद्ध लड्न चीनले अन्तर्राष्ट्रिय सहकार्य अघि बढाएको र हालसम्म चीनले नेपालसहित सयभन्दा बढी मुलुकलाई ४५ करोडभन्दा बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराइसकेको जानकारी दिनुभयो । खोपमा सबैको पहुँचका लागि चीन प्रतिबद्ध रहेको भन्दै उहाँले नेपाललाई चीनले अहिलेसम्म १८ लाख खोप अनुदानमा उपलब्ध गराइसकेको र थप ४० लाख खोप चीन–नेपाल खोप सहकार्यअन्तर्गत नेपाल भित्रिने क्रममा रहेको जानकारी दिनुभयो ।

यद्यपी उहाँले खोप खरिदमा भएको ‘नन–डिस्क्लोजर’ सम्झौताबारे सोधिएको प्रश्नमा भने खुलेर जवाफ दिनुभएन । उहाँले सबै मुलुकहरूसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको जवाफ दिनुभयो ।

त्यस्तै उत्तरतर्फका दुई नाका तातोपानी र रसुवागढीको भन्सार नाका संचालन हुन नसकेको कारणबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले त्यहाँको समस्या राजनीतिक नभएर प्राविधिक भएको जिकिर गर्नुभयो । उहाँले तिब्बतको भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्या र कोरोना महामारी नियन्त्रणका लागि चालिएको कदमका कारण नाकामा समस्या आएको बताउनुभयो ।

उहाँले तातोपानीमा दैनिक १० वटा ट्रक चीनबाट आउने गरेको, रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारण आयातमा समस्या भएको तर ती समस्या समाधानका लागि छलफल जारी रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा राजदूत होउ यान्छीले चीनको सहायतामा काठमाडौंमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न भई हस्तान्तरण भएको जिकिर गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढेको र टोखा–छहरे सुरुङमार्ग आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले चीनकै सहायतामा बनेको अरनिको राजमार्गलाई दीर्घकालीन रुपमा सञ्चालनका लागि स्तरोन्नति एवं मर्मत परियोजनाको तस्रो चरणको निर्माण कार्य शुरु भएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्