बीमा र साना वित्तीय कम्पनीप्रति लगानीकर्ताको आकर्षण


नेपाल समाचारपत्र, काठमाडौं ।

लगातार ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार लयमा फर्किभएको छ । यस दिन नेप्से ७४ दशमलव ७१ अंकले बढेर २८९९ दशमलव ८२ बिन्दुमा पुगेको छ । साथै सेन्सेटिभ परिसूचक पनि १३ दशमलव १७ अंकले बढेर ५४३ दशमलव ४३ बिन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार रुपियाँ पुगेको छ ।गत साताको अन्तिम दिनको कारोबारमा बजार पुँजीकरण ३९ खर्ब २९ अर्ब रुपियाँ रहेको थियो । यस आधारमा एकै दिन लगानीकर्ताको सम्पत्ति एक खर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ ।

आइतबार बीमा समूहको शेयरमा उछाल आउँदा समग्र नेप्से परिसूचकमा उच्चे वृद्धि भएको छ । यस दिन जीवन बीमा समूह ४८७ दशमलव २ र निर्जीवन बीमा ३७८ दशमलव ५३ अंकले बढेको छ । यस्तै विकास बैंक समूह पनि ३५७ दशमलव ५ अंकको वृद्धि भएको छ । बाँकी समूहहरूमध्ये वित्त समूह १८१ दशमलव २६, बैंकिङ समूह ४५ दशमलव १३, व्यापार समूह ३४ दशमलव ८३, जलविद्युत् ७८ दशमलव ५५, उत्पादन समूह ९६ दशमलव ४, अन्य समूह ९ दशमलव शून्य १, लघुवित्त समूह १३३ दशमलव ५, सामूहिक लगानी कोष शून्य दशमलव १४ र लगानी समूह २ दशमलव ८२ अंकले बढेको छ ।

त्यसैगरी कारोबारका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३९ करोड ९६ लाख ११ हजार रुपियाँको कारोबार भएको छ । साथै नबिल बैंकको २५ करोड ८१ लाख ८२ हजार, नेपाल बैंकको २४ करोड ४३ लाख ८४ हजार, नेपाल पूर्वाधार बैंकको १८ करोड ७८ लाख ४५ हजार र मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख ५१ हजार रुपियाँको कारोबार भएको छ । यस दिन गोर्खाज फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै साइन रेसुङ्गा विकास बैंक ९ दशमलव ९८, मल्टीप्रर्पोज फाइनान्स ९ दशमलव ९७, समृद्धि फाइनान्स ९ दशमलव ९५, महालक्षमी विकास बैंक ९ दशमलव ९३ र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ । समग्र परिसूचकमा उच्च उच्च अंकको वृद्धि हुँदा पनि कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल, एनबीबीएल डिवेञ्चर, लक्ष्मी विकास बैंकको ऋणपत्र र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले भने गुमाएका छन् ।