संक्रमितको शल्यक्रियामा संक्रमित स्वास्थ्यकर्मी

1.4k
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

कहिलेकाँही अनौठो संयोग हुने गर्छ । यस्तै एउटा संयोग सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा देखिएको छ । कोरोना संक्रमित डाक्टरले कोरोना संक्रमित बिरामीको शल्यक्रिया गरेका छन् ।

सामान्य प्रसूतिको लक्षणसहित उपचारका लागि आएकी रामेछापको उमाकुण्ड गाँउपालिका ४ की १९ वर्षीय लाप्ती शेर्पाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनमा कोरोनाको निमोनियासमेत देखिएपछि अस्पतालले निमोनियाको उपचार शुरू गर्‍यो । निमोनियाको उपचारकै क्रममा उनलाई प्रसूति व्यथा लागेको र सोहीक्रममा बच्चा अड्किएपछि उनको आपत्तकालीन शल्यक्रिया गर्नुपर्ने भयो । अस्पतालमा जोखिम मोलेर आपतकालीन अप्रेसन गर्ने डाक्टर नभएपछि कोरोना संक्रमित बनेका अस्पतालका प्रमुख डाक्टर विनोद दंगाल आफैंले उनको शल्यक्रिया गरेका थिए ।

निमोनियाको उपचारकै क्रममा उनलाई बेथा लागेको र सोही क्रममा बच्चा अड्किएपछि उनको आपतकालीन सल्यक्रिया गर्नुपर्ने भएपछि आफू संक्रमित नै भए पनि उनको अप्रेसनमा संलग्न रहेको अस्पतालका प्रमुख डाक्टर दंगालले बताउनुभयो ।

सिन्धुपाल्चोकको चौतारा संगमचोक गढी नगरपालिका–७ घर भएका डाक्टर दंगाल विगत १२ वर्षदेखि दोलखालीको उपचार सेवामा संलग्न हुनुहुन्छ । सानैमा बुबा गुमाएका डाक्टर दंगाललाई इटाली बस्ने टेरेजा निक्कोलीले पूर्ण छात्रवृत्तिसहित भानुभक्त मेमोरियल विद्यालय काठमाडौंमा विज्ञान विषय पढाउनुभएको थियो । गाँउको विद्यालयमा सधंै उत्कृष्ट हुने डाक्टर दंगालको पढाइमा रुचि र ज्ञानकै कारण टेरेजाले सहयोग गर्नुभएको थियो ।

उहाँ शुरूमा दोलखा बजारमा रहेको गौरीशङ्कर जनरल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । हाल उहाँ सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा कार्यरत हुनुहुन्छ । कोरोना संक्रमितको उपचारमा सक्रिय डाक्टर दंगाल सोहीक्रममा आफैं पनि संक्रमित हुनुभएको थियो ।
जेठ २३ गते कोरोना संक्रमण पुष्टि भएका डाक्टर दंगालले सोही अवधिमा झण्डै एक दर्जन जटिल प्रकारका शल्यक्रिया गर्नुभएको छ ।

डाक्टर दंगालले कोरोना संक्रमित भएको अवस्थामा प्रसूति, अपेन्डिसाइटिस, हाडर्जोनी र हर्नियाको अप्रेसन गर्नुभएको थियो । कोरोनाको पहलो भेरियन्टको समयदेखि नै संक्रमितको उपचारमा सक्रिय डाक्टर दंगाल दोलखामा पहिलो पीसीआर स्वाव लिने र पहिलो खोप लिने स्वास्थ्यकर्मीसमेत हुनुहुन्छ ।

दोलखाको १२ वर्षको बसाइको अवधिमा डाक्टर दंगालले जटिलदेखि सामान्यसम्म हजारौं शल्यक्रिया गर्नुभएको छ भने ५० हजारभन्दा बढीको विभिन्न रोगको उपचार गर्नुभएको छ ।

दोलखामा आफूलाई सबैले माया र सम्मान दिएको बताउने डाक्टर दंगाल अस्पतालमा आफूलाई खोज्दै आउने सबै बिरामीलाई समय दिन नपाउँदा भने दुःख लाग्ने बताउनुहुन्छ । सकभर म आफूलाई खोज्दै आउने बिरामीको उपचार आफैँ गर्छु डाक्टर दंगालले भन्नुभयो – ‘तर कहिलेकाहीँ समय अभाव र अस्पतालमा बिरामीको बढी चाप भएको बेला आफूले हेर्न पाइन भने दुःख लाग्छ ।