संवैधानिक इजलास बस्दै, आजै निर्णय आउने सम्भावना

434
Shares

विकास भट्टराई, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि सुनुवाई गरेको संवैधानिक इजलास आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएको सो इजलासमा यही असार २१ गते पक्ष तथा विपक्षको बहस सकिएको थियो । सोही दिन प्रधानन्यायाधीश राणाले असार २८ गते ‘हेर्दा हेर्दै’ को रूपमा इजलास बस्ने बताउनुभएको थियो ।

संवैधानिक इजलासमा रहनु भएका पाँचै जना न्यायाधीशहरूले असार २१ गतेयता कुनै पनि इजलासमा बसी मुद्दाको सुनुवाइ गर्नुभएको छैन । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार प्रधानन्यायाधीशसहित पाँचै जना न्यायाधीशहरूले असार २२ गतेबाट रिट निवेदनमा उठाइएका विषयहरूमा व्यापक छलफल गरिरहनुभएको छ । सर्वोच्चकै अर्का एक कर्मचारीले आज सोमबार अन्तिम आदेश आउन सक्ने पनि बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विघटित प्रतिनिधिसभाका एक सय ४६ सांसदहरूले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा बहुमत सांसदको हस्ताक्षर भएर पनि राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन अस्वीकार गरेपछि राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको प्रधानमनन्त्रीमा दाबी गर्न २० घण्टाको समय दिई आह्वान भएको थियो ।

सो आह्वानबमोजिम देउवाद्वारा एक सय ४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्नुभएको थियो । अर्कोतिर प्रधानमन्त्री ओलीले पनि आफूलाई धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री बनाउनुपर्ने माग गरी तीन पार्टीका नेताको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष निवेदन दिनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै माग दाबीबमोजिम प्रधानमन्त्री बनाउन नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने मिति तोक्नुभएको थियो ।