स्याङ्जा र गोरखामा डेल्टा भेरियन्ट

770
Shares

काठमाडौँ, (नेस) ।

गोरखा र स्याङजामा कोरोना भाइरसको यसअघि पत्ता लागेको अल्फा भेरियन्टभन्दा छिटो फैलने डेल्टा भेरियन्ट पत्ता लागेको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले प्रेस विज्ञप्ति जारी गरी गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका पाँचवटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको उल्लेख गरिएको छ ।

केन्द्रका संयोजक शर्माका अनुसार स्याङ्जाका दुई पुरुष तथा गोरखाका तीन महिलामा नयाँ भेरियन्ट डेल्टा प्रमाणित भएको छ । स्याङजा कालिगण्डकी गाउँपालिकाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०, ३३, र ४० वर्षीया महिलामा नयाँ भेरियन्ट पुष्टि भएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार पहिला प्रमाणित भएको अल्फा भेरियन्टमा भन्दा यो डेल्टा भेरियन्टको संक्रमण दर केही बढी भएकाले सबैलाई सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरिएको छ ।