आइतबार सहमतिको दस्तावेज सार्वजनिक हुने : नेम्वाङ

98
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले आइतबार सहमतिमा पुग्ने बताएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार बसेको कार्यदलको बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले आइतबार बिहान ८ बजे देशबासीले सुखद् समाचार पाउने दाबी गर्नुभएको छ । उहाँले एमाले एकतामा कुनै पनि समस्या नरहेको भन्दै सोमबार बिहान ८ बजे सहमतिको दस्तावेज सार्वजनिक गर्ने जानकारी दिनुभएको हो ।

नेता गोर्कण विष्टले पनि एमाले नेताबीच अविश्वासको अवस्था घट्दै गएको र पार्टी एकता गर्ने सम्बन्धमा दुवै पक्ष इमान्दार भएको जिकिर गर्दै आइतबार सार्थक परिणाम र सुखद् समाचार सुन्न पाइने दाबी गर्नुभयो । विष्टले कार्यदलको बैठक आइतबार पुनः बस्ने जानकारी दिनुभयो ।

एमालेभित्रको विवाद मिलाउन दुई सातादेखि कार्यदल सक्रिय बन्दै आएको छ । सहमति जुटाउन तयार भएको एजेन्डामाथि कार्यदलमा सहभागी नेताहरू दैनिक दुई पटकसम्म छलफल गरिरहेका छन् ।

यसअघि, नेता नेपालले सहमतिका लागि एक पद आफूलाई दिन माग गर्नुभएको तर प्रधानमन्त्री ओली दुवै पद दिन तयार नभएको कारण सहमति जुटन नसकेको बताइएको थियो । कार्यदलमा सहभागी नेताहरू दैनिकरूपमा प्रधानमन्त्री निवास वालुवाटार र नेपाल निवास कोटेश्वरमा दौडिरहेका थिए ।

सहमतिका लागि अध्यक्ष ओलीले नेता नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापनको पक्षमा सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको हस्ताक्षर फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । तर, नेपाल समूहले रिट निवेदनको हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई सकेर यही असार २८ गते फैसला गर्ने तयारीे गरेको छ ।

कार्यदलमा सहभागी नेताहरूले सहमति नजिक पुगेको दाबी गरे पनि सहमतिको हस्ताक्षर हुने वातावरण अझै सृजना हुन नसकेको नेपाल समूहका नेताले बताएका छन् । नेपाल समूहका एक नेताले भने–‘पार्टी एकतालाई जोगाउन हरसम्भव सबै प्रयास गरेका छौं । पार्टी विभाजन गरेर कसैलाई पनि फाइदा छैन । पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्दो प्रयन्त भइरहेको छ । दुई शीर्ष नेताको बीचमा विश्वासको वातावरण निर्माण गरेर मात्र सहमतिमा जान सकिन्छ ।’

बिहीबार नै सहमतिको सार्वजनिक गरिने गरी कार्यदलका नेताहरूले तयारी गरे पनि सहमति जुटन सकेको थिएन । शनिबार पनि दिउँसोको लागि बोलाइएको कार्यदलको बैठक साँझ मात्र बसेको थियो । अर्थ मन्त्रालयमा कार्यदलको बैठक शुरू भएपछि थप परामर्श गर्न भन्दै नेपाल पक्षका नेताहरू सल्लाह गर्न नेता नेपालको निवास कोटेश्वरमा पुगेका थिए । त्यसपछि बसेको कार्यदलको बैठकमा पनि ठोस सहमति निर्माण हुन सकेन ।

नेपाल निवासमा प्रचण्ड

नेकपा एमाले भित्रको विवाद समाधान गर्न कार्यदलले सहमतिको मस्यौदा तयार भएको दाबी गरिरहेकै बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

शनिबार नेपाल निवास कोटेश्वरमै पुगेर प्रचण्डले एमालेभित्रको एकताको विषयमा चासो व्यक्त गर्नुभएको बताइएको छ । कार्यदलले मिलाउन बाँकी रहेको विषयमा पुनः अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउने गृहकार्य भइरहेको छ । तर, नेता नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमति गर्ने पक्षमा नरहेको आशंका संस्थापन पक्षले गरेको छ । एमालेभित्र सहमतिको मस्यौदा तयार भए पनि विपक्षी गठबन्धनको पछिल्लो बैठकसमेत माधव नेपाल सहभागी भएपछि मात्र बस्ने भनेर बसेको छ ।

वरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरी पावर सेयरिङ हुनुपर्ने शर्त अगाडि सारेको बताइएको छ । नेपालको प्रस्तावमाथि कार्यदलले कुनै सहमति जुटाउन नसकेपछि दुई नेतालाई पुनः भेट गराउने तयारी गरिएको बताइएको छ । नेता नेपालले भने आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै आउनुभएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल केही दिनयता जनै खटिरा आएकोले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ ।