फेरि रोकियो राष्ट्रिय पुरस्कार

42
Shares

चलचित्र विकास बोर्डले सामान्य कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ। बोर्ड अध्यक्ष दयाराम दाहाल र बोर्डका कर्मचारीमात्र उपस्थित भएर शुभकामना आदान प्रदान गरी स्थापना दिवस मनाइएको हो।

स्थापना दिवसको अवसरमा बोर्ड अध्यक्ष दाहालले बोर्डले एक वर्षमा गरेका कार्यबारे जानकारी गराएका छन्। मौलिक फिल्म निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ बोर्डले स्टोरी बैंकको स्थापना गरेको र ११ सदस्य रहेको मस्यौदा समितिले स्टोरी बैंक कार्यविधि २०७७ तयार पारेको दाहालले जानकारी गराए। यो बैंकका लागि प्राप्त फिल्ममध्येबाट प्राप्त पाँच मौलिक फिल्मलाई राज्यले सुविधा दिने, मौलिक छनोटमा नपरेका फिल्ममा कसैले लगानी गर्न चाहे राज्यले केही सुविधा उपलब्ध गराउने, आगामी वर्ष स्टोरी बैंकको दायरा अझै फराकिलो हुने उनले बताए। त्यसैगरी चलचित्रकर्मी विपद व्यवस्थापन कोषको शुरूवात गरिएको र यस कोषले विपदमा परेका फिल्मकर्मीलाई राहत प्रदान गर्ने, प्रोजेक्ट बिमासम्बन्धी कार्यविधि निर्माण भई कार्यान्वयनमा आएको, डेढ करोडसम्मको लगानीमा बन्ने फिल्मको प्रोजेक्ट बिमाका लागि लाग्ने शुल्क बोर्डले तिरीदिने, निर्माण, प्रदर्शन र वितरणमा जाने फिल्मलाई बोर्डबाट उपलब्ध गराउने सहयोगसम्बन्धी कार्यविधि निर्माण भई कार्यान्वयन भइसकेको छ तथा गत वर्ष प्रदर्शनमा आएका चार फिल्मले यो सुविधा प्राप्त गरेको पनि दाहालले जानकारी गराए।

त्यस्तै,श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजनाअन्र्तगत ६० वर्ष उमेर कटेका श्रमजीवी फिल्मकर्मीलाई राज्यबाट भत्ता सुविधा दिने नीति पास हुने क्रममा रहेको, कक्षा ११ र १२ को पाठ्यक्रममा फिल्मसम्बन्धी पढाइ हुने, आगामी शैक्षिक सत्रबाट अब पठन पाठन शुरू हुने, नेपाली फिल्म छायाङ्कनका लागि अत्याधुनिक इन्डोर स्टुडियोको आवश्यकतालाई मध्यनजर गर्दै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माणको काम अघि बढेको तथा डिपिआर तयार भई सकेको र अबको ६ महिनाभित्रै यसको निर्माण शुरू हुने उनले जानकारी गराएका छन्।

२०५७ साल आषाढ १६ गते बोर्डको स्थापना भएको थियो। बोर्डले यादव खरेलदेखि हालका अध्यक्ष दयाराम दाहालसम्म गरी १५ जना अध्यक्ष पाईसकेको छ। स्थापना दिवसको अवसरमा बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आए पनि कोरोना महामारीका कारण यस वर्ष पनि राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने कार्य रोकिएको बोर्डले जनाएको छ।