शान्तिप्रिय र सुरेन्द्र सम्मानित


फिल्म पत्रकार तथा गीतकार शान्ति प्रिय र हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) सम्मानित भएका छन्। लोकप्रिय हास्य कलाकार किरण केसी (ए राता मकै) ले शान्ति र सुरेन्द्रलाई सम्मानित गरेका हुन्।

किरण केसीले हरेक वर्षको असार १५ गते आफ्नो जन्म दिन पारेर प्रदान गर्दै आएको यी सम्मान यस वर्ष रंग पत्रकार शान्ति प्रिय हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) लाई जनही नगद १० हजार रुपियाँसहित प्रदान गरेका हुन्। कोरोना संक्रमणबाट हुने कोभिड-१९ महामारीका कारण जन्म दिन मनाउन औपचारिक कार्यक्रम नराखे पनि किरणले सम्मानलाई भने निरन्तरता दिँदै शान्तिप्रिय र सुरेन्द्रलाई उनीहरूकहाँ नै पुगेर सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए। केसीले केही वर्षयता आफ्नो जन्मदिनका अवसरमा हास्य कलाकार तथा पत्रकारको भेला गरेर हास्य विधामाथि बहस चलाउँदै एकजना रंग पत्रकार र एकजना हास्य

कलाकारलाई नगदसहित सम्मान गर्दै आएका छन्। उनले आफू हास्य कलाकारिता क्षेत्रमा क्रियाशील रहेकाले हास्य कलाकार तथा यो विधालाई माथि उकास्न योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्परा शुरु गरी यसलाई निरन्तरता दिँदै आएको बताए।‘हास्य कलाकार तथा यो विधाको उत्थानका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्परा शुरू गरेको हुँ। यो परम्परा म यो संसारमा नरहे पनि जारी रहन्छ। यसपालि कोभिडको कारण निम्तिएको विषम परिस्थितिमा आफ्नो जन्मदिनलाई उत्साहको रूपमा नमनाए पनि मैले गर्दै आएको श्रष्टा सम्मानलाई थाती राख्न मन मानेन। त्यसकारण पोहोर साल र यो वर्ष पनि सोही कार्यलाई निरन्तरता दिँदै सिने पत्रकारितामार्फत कला क्षेत्रमा अतुलनीय योगदान दिनुहुने शान्तिप्रिय र हास्यव्यङ्य कलामार्फत कला क्षेत्रमा अतुलनीय योगदान दिनुहुने कलाकार प्यारो भाइ सुरेन्द्र केसीलाई उहाँहरूकहाँ नै गएर सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको हुँ’ केसी भन्छन्।

किरणले आफ्नो दिवंगत हजुरबुवा बडाहाकिम भोजराज केसी, दिवंगत हजुर आमा हृदयकुमारी केसी, दिवंगत पिता ले. क. दुर्गा बहादुर केसी र दिवंगत आमा इन्द्रकुमारी केसीको सम्झनामा आठ वर्षअघि उक्त पुरस्कार स्थापना गरेका थिए। जसमार्फत उनले हरेक वर्ष एक जना पत्रकार र एक जना हास्य कलाकारलाई सम्मान गर्दै आएका छन्।किरणले केही दिनअघि सिन्धुपाल्चोक मेलम्चीका बाढी प्रभावितको सहयोगार्थ कलाकारहरूद्वारा स्थापित सिन्धु सहयोग कोषमा दुई लाख ५३ हजार रुपियाँ पनि सहयोग गरेका थिए।