राष्ट्रगानका गायक थापाको निधन


नेपालको नयाँ राष्ट्रगानका समूह गायकमध्येको एक तथा स्थापित भजन गायक अजय थापाको शुक्रवार निधन भएको छ।नेपाली राष्ट्रगान सयौँ थुँगा फूलका हामीका समूह गायकमध्येका एक अजय थापाको कोरोना संक्रणका कारण निधन भएको हो। २०६२-६३ साल को जनआन्दोलनपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको संगीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको थियो। यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी थापालाई गत आइतबार कोरोना संक्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो। भेन्टिलेटरमाराखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे गायक थापको निधन भएको अस्पतालले जनाएको छ। गायक थापाकी पत्नी राधा थापासमेत कोरोना संक्रमण भएर सोही हस्पिटलमा उपचारर भईरहेको छ।

थापाले २०४४ सालमा रेडियो नेपालमा आकासमा बादलु बोलको गीत गाएर गायकको परिचय बनाएका थिए। करिव ३ दशकदेखि व्यावसायिकरुपमा संगीत प्रशिक्षकका रुपमा क्रियाशील उनले संगीतकार टीका भण्डारीलगायतका साथ झापाको मेची नगरबाट सांगितीक यात्रा थालनी गरेका थिए। उनी सेन्ट मेरिज स्कुल जाउलाखेलमा शिक्षक थिए। उनका दुई छोरी र एक छोरा छन्।