स्थानीय तहलाई सूचना अधिकारी तोक्न परिपत्र



काठमाडौं, (नेस) । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्न स्थानीय तहलाई परिपत्र गरेको छ ।मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई लिखित पत्राचार गरेको हो । सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्ने छ भन्ने व्यवस्था रहेको छ ।

यस्तो व्यवस्था रहेकोमा अधिकांश स्थानीय तहले हालसम्म पनि ऐनबमोजिम सूचना अधिकारीको व्यवस्था गरेको नदेखिएकाले अविलम्ब सूचना अधिकारी तोकी वेबसाइटमा राख्न मन्त्रालयले भनेको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।‘राज्यका कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्ने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन–२०६४ प्रचलनमा रहेको छ ।’ –मन्त्रालयले स्थानीय तहलाई स्मरण गराएको छ ।

पछिल्लो समय मन्त्रालयले संघीय मात्रै होइन, प्रदेश र स्थानीय तहहरुमासमेत सुधारका केही प्रयासहरू थालनी गरेको सचिव एकनारायण अर्यालले बताउनुभयो ।‘लामो समयदेखि जकडिएका कतिपय चलनचल्तीका कारण एकैचोटि नतिजा नदेखिए पनि समयानुकूल आज गरिएका प्रयासहरूले भोलिका दिनमा निश्चय नै सकारात्मक परिणाम दिने पक्का छ ।’ –उहा“ले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्