बिनादर्ताका फार्मेसीलाई कारबाही गरिने



काठमाडौं, (नेस) । 

नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयले फार्मेसी परिषद्मा दर्ता नगरी फार्मेसी नचलाउन निर्देशन दिनुभएको छ । उहाँले सो निर्देशन नेपाल औषधि व्यवसायी संघको ४८औं वार्षिकोत्सवको अवसर बोल्ने क्रममा दिनुभएको हो ।

रजिष्ट्रार पाण्डेयले बिहीबार विज्ञप्ति जारी गर्दै परिषद् ऐन २०५७ को परिच्छेद ३ को दफा ११ ले परिषद्मा नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने बाध्यकारी व्यवस्था गरेको उल्लेख गर्दै दर्ता नगरी फार्मेसी नचलाउन निर्देशन दिनुभएको हो । विज्ञप्तिमा परिषद्मा दर्ता नगरी फार्मेसी चलाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइन चेतावनी दिइएको छ ।फार्मेसी व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न सामाजिक सजालमा आएका कुराप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

यसैबीच नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञाको समयमा पनि औषधी व्यवसायीहरू अहोरात्र सेवा भावले औषधि पसल खोली फ्रन्ट लाइनमा बसेर बिरामीलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले मुलुकभर छरिएर रहेका २१ हजारभन्दा बढी औषधी व्यवसायीको छाता संगठन नेपाल औषधी व्यवसायी संघले देशव्यापी रुपमा औषधी व्यवसायीलाई एकजुट गराएर जनस्वास्थ्यमा जुट्न उत्प्रेरित गर्ने प्रतिबद्धता गर्नुभयो ।

उहाँले कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटिएर अहोरात्र सेवामा जुटेका व्यवसायीलाईसरकारले खोप दिने क्रममा प्राथमिकतामा नराखेकोमा दुःख व्यक्त गर्दै संघले यसतर्फ सरकारको ध्यानाकर्षण गराएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्