नगरसभा विवादमा हवाई फायर



सञ्जय कार्की, रौतहट  । 

रौतहटको मौलापुर नगरपालिका नगरसभा चलिरहँदा भएको विवादले झडपको रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास र १४ राउन्ड हवाई फायर गरेको छ । झडपमा एक प्रहरी र दर्जनौं प्रर्दशनकारी घाईते भएका छन । दोहोरो झडपले गर्दा मौलापुर बजार समेत बन्द गरिएको थियो । प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले झडप नियन्त्रणमा लिइएको बताउनुभएको छ ।

विवाद चर्किंदै गर्दा कडा सुरक्षाका बीच मौलापुर नगरपालिकाको अधिबेशन शुरू गरिएको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधब नेपाल पक्षका एमाले सहितका दलहरूले नगरसभा भैरहदा विरोध गर्दै जुलुस प्रर्दशन गरेपछि झडप भएको हो । नगरसभामा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख आतिथ्यता ग्रहण गराएकोमा समेत प्रदर्शनकारीहरूको आपत्ति जनाएका थिए ।मौलापुर नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष उपेन्द्रप्रसाद जयसवालले विधि र पद्धतिलाई मिचेर अपारदर्शी तरिकाले नगरसभा गर्न खोजेपछि आफूहरू विरोधमा उत्रिएको बताउनुभयो ।

जसपाका धिरज पटेलले नगरपालिकाभित्र अनियमितता भएको र सोको छानबिन हुनुपर्ने माग गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने नगरसभाको मिति निर्धारण गर्नु अघि नै चालु आर्थिक वर्षको सम्पूर्ण हिसाब सार्वजनिक गरिसकेको दावी गर्नुभयो । उता नगरप्रमुख रीना कुमारी साहले प्रदेश २ मा मौलापुर नगरपालिकाले विकासको गति लिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्