लुम्बिनी प्रदेश सरकार जोखिममा



यमलाल भुसाल, बुटवल । 

लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि चार मन्त्रीले पक्षमै मतदान गरेको भन्दै दोस्रोपटक सांसद पद निलम्बन गर्न केन्द्रीय कमिटीलाई प्रदेशले सिफारिस गरेको हो ।

यसअघि, वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल सरकारमामन्त्रीभएको भन्दै जसपाले चार मन्त्रीको सांसद पद निलम्बन गरेको थियो । निलम्बनमा परेका चार मन्त्रीको जेठ ३ गते सर्वोच्चको अल्पकालीन आदेशले सांसद पद जोगाइदिएको छ । जेठ ३० गते नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न संसदीय दलको ह्वीप उल्लघन गरेकाले फेरी कारवाहीका लागि सिफारिश गरेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो ।

जसपाका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट निलम्बन गर्न जसपा (यादव) पक्षले सिफारिस गरेको हो । केन्द्रीय कार्यकारिणी बैठको बहुमतले मन्त्री भएका चार जनालाई स्पष्टिकरणको पत्र पठाइसकेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो । चार सांसदलाई फेरी कारवाही गर्ने प्रक्रिया थालेपछि मुख्यमन्त्री शंकर पोखरेललाई समेत थप चिन्ता बढाएको छ ।

एमाले एकता कायम गर्ने अभियान शुरू

प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । युवा बुद्धिजीवी मञ्च बुटवलले एमाले विभाजनको संघारमा पुगेको भन्दै त्यसले कसैलाई हित नगर्ने भन्दै एकता अभियानको थालनी गरेको हो ।
एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब दिन अभियान शुरू गरिएको युवा बुद्धिजीवी मञ्चले जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपीशर्मा ओली र वरिष्ठ नेतामाधवकुमार नेपाल पक्षमा विभाजित नेताहरू बीच संवाद गरी भएका कमजोरी सच्चाएर एकताबद्ध हुन अपिलसमेत गरिएको छ । मञ्चले शनिबार बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरी कार्यकर्ता एकताकै पक्षमा रहेको बताएका हुन् ।
कार्यक्रममा एमालेका पुराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरूले एमालेलाई फुटाउन खोजेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्