प्रााथमिकतामा सत्ता



जनता कोरोना महामारीविरुद्ध लडिरहेका छन्भने सरकार र राजनीतिक दल कुर्सीका लागि जुधिरहेका छन् । दोस्रो संक्रमणको दोस्रो लहरका कारण नागरिकले दैनिक रुपमा ज्यान गुमाइरहेका छन् ।

सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि लकडाउन गरेको छ । तर लकडाउनसँगै सरकारले गर्नुपर्ने काममा पर्याप्त ध्यान दिन सकेको छैन । विभिन्न देशले कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याएपछि नेपालले पनि गत वर्ष नै सबै नेपालीलाई खोपको व्यवस्था गर्ने घोषणा गरेको थियो । छिमेकी देश भारतबाट केही मात्रामा खोप ल्याउने काम पनि भयो । जति बेला नागरिकले कोरोना विरुद्धको खोपको माग गरिहेको छन, त्यति बेला भने सरकारले खोप खरिद गर्न सकेको छैन ।यतिखेर सबैभन्दा बढी सत्तालिप्सा देखाउने काम प्रधानमन्त्री केपी ओलीबाट भएको छ । पाँच महिनामा दुई–दुई पटक प्रतिनिधिसभा भंग गर्नु र जस्तासुकै शक्तिलाई किन नहोस् सरकारमा ल्याएर सत्ता जोगाउनु प्रधानमन्त्री ओलीलाई सुहाउने कार्य थिएन । खासगरी महामारीको संकटका बेला यस दिशामा लाग्नु अति नै प्रत्युत्पादक भएको छ ।

जनतालाई खोप चाहिएको छ तर सरकार र राजनीतिक दलहरु भने केन्द्रदेखि प्रदेशसम्म सरकार परिवर्तनको खेल देखाएर थाकिरहेका छैनन् । कोरोनाको खोप आयात गर्न सरकारले पर्याप्त गृहकार्य गरेको देखिएन । खोप ल्याउनको लागि सरकारले गर्नुपर्ने कूटनीतिक पहल निकै कम देखिएको छ । भारतमा निर्माण भएको कोरोना विरुद्धको खोप केही मात्रा ल्याएपछि भारतमै संक्रमितको दर उच्च भयो, कबोल अनुसारको खोप भारतले उपलव्ध गराउन सकेको छैन । भारतले खोप रोके पनि अन्य देशहरुबाट खोप ल्याउनको लागि सरकारले देखाउनुपर्ने तत्परता देखाएको छैन । नागरिकहरु दैनिक रुपमा कोरोनाको कारण ज्यान गुमाइरहेका छन् । यता सरकार कसरी आफ्नो कुर्सी बचाउने भन्ने ध्याउन्नमै सीमित छ । विपक्षी दलहरु पनि सत्ता प्राप्तिकै लडाइँमा छन् । सरकार ढाल्नु र नयाँ बनाउनु कुनै ठूलो विषय होइन । यो नियमित प्रक्रिया हो । तर यस्तो विषम परिस्थितिमा पनि राजनीतिक दलहरुबीच देखिएको सत्ताको खिचातानीले नागरिकहरुलाई निकै लज्जित तुल्याएको छ । राजनीतिक दलहरु एकताबद्ध भएर गर्नसकिने धेरै कामहरु छन् । सरकारले विपक्षी दलहरुको साथ लिन सकेको छैन भने, विपक्षीहरु प्नि सरकारलाई सफल हुन नदिने खेलमा लागि नै रहेका छन् । यति बेला प्रतिष्ठाको लडाइँ लड्नुभन्दा पनि राजनीतिक दलहरुले केन्द्रदेखि वडातहसम्म आपसी समन्वय गरेर कोरोनाविरुद्ध नागरिकहरुलाई जनचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्ने बेला थियो ।

भोटको लागि राजनीति गर्ने राजनीतिक दलहरु कोरोनाबाट नागरिकको निधन हुँदा पनि अझै सत्ता प्राप्तिको खेल छोड्न तयार छैनन् । यस्तो अवस्थामा सरकारले जस्तोसुकै मूल्य चुकाएर पनि नागरिकलाई खोप लगाउने वातावरण सृजना गर्नु आवश्यक छ । सरकारले नारा र भाषण मात्र होइन, खोप ल्याएर जनतालाई सुरक्षित बनाउने अभियानमा जुट्नु आवश्यक छ । सरकारले आवश्यकता परेको अवस्थामा सम्पूर्ण बजेट नै खोप खरिदमा लगाउन पनि तयार हुनुपर्छ । संकटको बेला जनतालाई बचाउन सकेमात्र सरकार र राजनीतिक दलहरुको अर्थ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्