सहयोगी बन्दै कलाकार श्रेष्ठ


हेटौंडा, (नेस) ।

कलाकार सुशान्तकुमार श्रेष्ठले मकवानपुरमा १ सय २० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।हेटौंडा उपमहानगरपालिका हर्नामाडीका ५० घरपरिवार र सुकौराका ७० घरपरिवारलाई श्रेष्ठले व्यक्तिगत्रुपमा दाल, चामल र तेललगायत राहत बितरण गरेका हुन् । दुई चरणमा गरिएको राहत वितरणमा करिब दुई लाख खर्चिएको श्रेष्ठले बताए ।

दोस्रो लहरको कोभिडका कारण जारी निषेधाज्ञामा आर्थिक विपन्न र असहायलाई हातमुख जोर्न गाह्रो भएपछि उनले सहयोगको हात बढाएका हुन् । न्यून आय भएकाहरुलाई सहयोग गर्न पाउनु पुण्यको काम भएको श्रेष्ठले बताए । उनले यसअघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका छन् । उनी नेपाली कांग्र्रेस मकवानपुरका जिल्ला समिति सदस्य र साँस्कृतिक विभाग प्रमुख हुन् ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्र्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र पार्टीको हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सहभागिता थियो ।