गुराँसलाई नेदरल्यान्डबाट १४ लाख स्क्रिप्ट फन्ड


सौरभ राईको निर्देशनमा बन्ने फिल्म गुराँसले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ।नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो। नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो। आइसफलका प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख २५ हजार ८ सय रुपियाँ बराबर रकम प्राप्त गरेको जानकारी गराए। हुबर्ट बल्सले गुराँससँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको छ।

पोखरेलका अनुसार कालिम्पोङ मूल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो। यसअघि, उनले निर्देशन गरेको निम्तोले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो। विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोटझेड्याममा भएको थियो। त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म गुँड क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो।निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए।

सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो। बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति भएको थियो। सोहीअनुसार काम भइरहेको छु पोखरेलले जानकारी गराए ञयो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं। अर्को साल फ्लोरमा जाने सोचमा छौँ।फिल्म निर्माणमा आइसफलसँगै क्राउलिङ एन्जलको पनि साझेदारी रहनेछ। योबाहेक सञ्जय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहनेछन्। आइसफलले यसअघि निर्माण गरेको ऐना झ्यालको पुतली प्रदर्शनको पर्खाइमा छ। सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।