सहयोग पारदर्शी गर !



कोभिड महामारी नियन्त्रण गर्न सरकारलाई दातृ निकायहरुबाट सहयोग प्राप्त भइरहेका समाचार निरन्तर सार्वजनिक भएका छन् । विश्व नै आक्रान्त बनेको यस बेलामा पनि अल्पविकसित नेपालप्रति संसारले सहानुभूति देखाइरहेको छ ।

विदेशमा रहेका नेपालीहरुले आफ्नो गाँस काटेर नेपालीलाई सघाइरहेका छन् । प्रधनमन्त्री केपी ओलीले दातृ निकायसंँग सहयोगको अपिल गरेपछि विभिन्न मुलुकबाट सहयोग आउन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै देशका राजदूतसँंग भर्चुअल बैठक गरी कोभिड महामारीका लागि सहयोग गर्न आग्रह गरेका कारण अपिलले थप बल पाएको छ । गैरआवासीय नेपाली संघ र राजनीतिक दलका विदेशस्थित भ्रातृ निकायहरु पनि अपिल र आग्रहअनुसार काम गरिरहेका छन् । सञ्चारमाध्यममा दिनदिनै देखिने नेपाली संक्रमितका हृदयविदारक दृश्यले पनि दातालाई द्रविभूत बनाएको हुनुपर्छ ।

यसैबीच विदेशमा रहेका नेपाली राजदूतहरुले समेत सहयोग मागेका छन् । मध्यपूर्वी मुलुकका नेपालीहरुले करिब ६ सयवटा अक्सिजन सिलिन्डर खरिद गरी नेपाल पठाएका छन् । बंगलादेशले रेम्डेसिबिर ओखती सहयोग गरेको छ । चीनले अक्सिजन सिलिन्डर, मास्क, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार मात्र स्पेनले करिब १४ करोड रुपियाँ बराबरको अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघ, अमेरिका, बेलायतलगायतका मुलुकले सहयोग गर्ने वचनबद्धता जनाइसकेका छन् । पछिल्लो समय अक्सिजन सिलिन्डरसहित करोडौं मूल्य बराबरको आपत्कालीन अवस्थामा प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल आउने क्रम जारी छ । तर, त्यसको कसरी प्रयोग गर्ने, मापदण्ड कस्तो बनाउने भन्ने विषयमा अन्योल देखिएको छ ।

दातृ निकाय र मुलुकले सहयोग गरेको सामग्रीलाई पारदर्शीरूपमा वितरण गर्नु आवश्यक देखिएको छ । स्वाथ्य मन्त्रालयले एकद्वार प्रणालीबाट वितरण गर्दा सबैलाई समान प्रयोग गर्न सकिन्छ । मन्त्रीदेखि सांसद ठूलाबडाको पहुँचमा सामग्री प्रयोग भएको गुनासो आउन थालेको छ । बेड र भेन्टिलेटर नपाएर छटपटिरहेका संक्रमितले ती सामग्रीको सही उपयोग गर्न पाए छिमेकी मु्लुकले दिएको सहयोग सार्थक रहनेछ ।नेपाललाई जस्तै कोरोना कहरले थिचेको छिमकी मुलुक भारतमा विदेशी सहयोगको ओइरो लागेको छ । त्यहाँ अहिले सहयोग वितरणको समस्या देखिएको छैन । तर, नेपालमा आएका स्वास्थ्य सामग्री कसरी समानरूपमा वितरण हुन्छ भन्ने विषय शंकाको घेरामा छ ।

सरकारले सहयोग वितरण प्रणालीलाई चुस्त–दुरुस्त बनाउन नसकेकै कारण आशंका सिर्जना भएको छ । मुत्युका मुखमा पुगेका कोभिड संक्रमितलाई दातृ निकायको सहयोगले आफ्नो ज्यान जोगिएको छ भन्ने महसुस हुने वातावरण बनाउनु जरुरी छ । होइन भने दाताले उदात्त मानसिकताका साथ प्रदान गरेको करोडौं मूल्य बराबरका ती सामग्री ठूलाबडाको हातमै सीमित हुनेछन् । वितरण प्रणालीलाई व्यवस्थित गरी वास्तविक पीडितले ती सामग्री प्रयोग गर्न पाए उनीहरुले विदेशीको सहयोग सधैं सम्झिरहनेछन् । सरकालाई पटक–पटक धन्यवाद दिनेछन् । अहिलेको विषम परिस्थितिमा कोरोना संक्रमितको नाममा आएका स्वास्थ्य समग्री सरल र पारदर्शी वितरण प्रणालीमार्फत सही सदुपयोग गर्ने वातावरण बनाउनु सरकारको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्